काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रचलनमा ल्याउन १५ करोड थान पाँच रुपैयाँ दरका सिक्काको डिजाइन, टकमरी (ढलाइ), आपूर्ति र वितरणका लागि पूर्व–योग्यता प्राप्त सेक्युरिटी मिन्टिङ कम्पनीहरूबाट अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले सूचना प्रकाशित गर्दै अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र (एक चरण, दुई खाम प्रणाली — IFB No: NRB/CMD/COINS/ICB/G-03/083/84) मार्फत प्रस्ताव माग गरेको हो। बोलपत्रमा ‘दि राइजिङ नेपाल’ मा १२ मार्च २०२६ मा प्रकाशित सूचना तथा बिड डाटा सिटको व्यवस्थाबमोजिम सूचीकृत पूर्व–योग्यता प्राप्त बोलपत्रदाताहरूले मात्र सहभागी हुन पाउनेछन्।
सूचनाअनुसार बोलपत्र कागजात २८ डिसेम्बर २०२६ सम्म कार्यालय समयभित्र थापाथलीस्थित मुद्रा व्यवस्थापन विभाग वा बबरमहलस्थित टक्सार महाशाखाबाट खरिद गर्न सकिनेछ। कागजातको शुल्क नेपाली रुपैयाँ २० हजार, अमेरिकी डलर १३२ वा युरो ११८ (फिर्ता नहुने) तोकिएको छ। पूर्व–बोलपत्र बैठक ११ डिसेम्बर २०२६ मा मध्याह्न १२:०० बजे (नेपाली समय) थापाथलीस्थित मुद्रा व्यवस्थापन विभागमा हुनेछ।
बोलपत्र २९ डिसेम्बर २०२६ मा मध्याह्न १२:०० बजेसम्म हातै वा कुरियरमार्फत पेस गर्नुपर्ने र सोही दिन दिउँसो १:०० बजे थापाथलीमै खोलिनेछ। बोलपत्र पेस गरेको मितिले १२० दिन मान्य हुनुपर्ने तथा कम्तीमा १ लाख २७ हजार अमेरिकी डलर वा सो बराबरको नेपाली रुपैयाँ वा बोलपत्रको मुद्रा को बिड सेक्युरिटी (धरौटी) राख्नुपर्नेछ, जसको मान्य अवधि २८ मे २०२७ सम्म रहनुपर्ने जनाइएको छ।
सार्वजनिक खरिद ऐन, २०६३ बमोजिम कालोसूचीमा परेका फर्म, संस्था वा कम्पनीका सञ्चालक वा लगानीकर्ताहरूले नयाँ फर्म वा कम्पनी खोलेर सञ्चालन गरेको भए त्यस्ता व्यक्ति, फर्म वा कम्पनी बोलपत्र पेस गर्न अयोग्य हुनेछन्। खरिद, पेस गर्ने वा खोल्ने अन्तिम दिन सार्वजनिक बिदा परेमा त्यसपछिको पहिलो कार्यदिनलाई अन्तिम दिन मानिनेछ, तर बोलपत्र र धरौटीको मान्य अवधि भने पूर्वनिर्धारित मितिअनुसार नै कायम रहने राष्ट्र बैंकले स्पष्ट पारेको छ।



