प्रधानमन्त्री ओलीको चाहना विपरित सेबोन अध्यक्ष नियुक्ती प्रक्रियामा अर्थमन्त्री पौडेल

काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीको चाहना विपरीत अर्थमन्त्री विष्णुप्रसाद पौडेल धितो पत्र बोर्ड (सेबोन)को अध्यक्ष नियुक्त प्रक्रियामा अघि बढेका छन् । प्रधानमन्त्री ओलीले अमेरिका उड्नु अघि अर्थमन्त्री विष्णु पौडेल, आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा र मुख्य सल्लाहकार विष्णु रिमालसहितसँग सेबोन अध्यक्षका सम्बन्धमा छलफल गरेका थिए । उक्त छलफल ओलीले सेबोन अध्यक्ष नियुक्ती सम्बन्धी हालको प्रक्रिया रद्ध गरि नयाँ प्रक्रिया आरम्भ गर्न उनीहरुलाई निर्देशन दिएका थिए ।

गत असोज ४ गते संयुक्त राष्ट्र सङ्घको ७९ औँ महासभामा भाग लिन ओली अमेरिका हिडेका थिए । त्यस लगत्तै असोज ७ गते अर्थमन्त्री पौडेल चीन उडे ।

सेबोन अध्यक्ष छनौट समितिले असोज १० गते अन्तरवार्ताका लागि सूचना निकाल्यो ।

सेबोन अर्थमन्त्रालय मातहतको निकाय भएकाले प्रधानमन्त्रीले आफ्नो कार्य क्षेत्रमा हस्तक्षेप गरेको अर्थमन्त्री पौडेलको बुझाइ छ । प्रधानमन्त्री ओलीले नयाँ प्रक्रियाको विकल्पमा जानुपर्छ भनेर निर्देशन दिए लगत्तै अर्थमन्त्री पौडेलमा देखिएका थिए । । प्रधानमन्त्रीले विष्णु रिमाल र डा. युवराज खतिवडासँगै राखेर आफूलाई नयाँ प्रक्रियामा जान निर्देशन दिएपछि अर्थमन्त्रीले त्यसलाई हस्तक्षेपका रुपमा बुझेको स्रोतले बतायो ।

‘प्रधानमन्त्रीको त्यो निर्देशनलाई अर्थमन्त्रीले हस्तक्षेपका रुपमा बुझेका छन् । उहाँलाई प्रधानमन्त्रीको निर्देश चित्त बुझेको छैन । उहाँले आफू निकटस्थहरुलाई अब बिद्रोह गर्छु भन्नु भएको रहेछ ।’, स्रोतले भन्यो । अर्थमन्त्री पौडेलले प्रधानमन्त्रीको पार्टी तथा मन्त्रिपरिषद् एकलौटी चलाउने निर्णयमा असन्टुष्टी जायर गर्दै आएका छन् ।

पछिल्लो समय ओली र पौडेलबीच विगतको जस्तो समधुर सम्बन्ध रहेको छैन । सेबोन अध्यक्ष नियुक्त प्रक्रियामा प्रधानमन्त्री आफैले चासो राखेर नयाँ प्रक्रियाबाट सुरु गर्न निर्देशन दिएसँगै पौडेल झन् चिडिएका छन् ।

ओली अमेरिका उडेपछि आफू निकटस्थ केहि नेताहरुसँगको भेटमा अर्थमन्त्री पौडेलले ‘मलाई घेराबन्दीमा पारियो, असाध्यै हस्तक्षेप गरिँदैछ, पद त आउँछ जान्छ नि । अब म बिद्रोह गर्छु’ भनेको पनि उनी निकट स्रोतहरु बताउँछन् ।

सोही विद्रोहको भाव स्वरुप सेबोन अध्यक्ष नियुक्ती प्रक्रियालाई अर्थमन्त्री पौडेलले ब्यूत्याएको ती स्रोतको बुझाइ छ ।

मन्त्री पौडेलले चीन उड्नु अघि योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारी र अर्थ सचिव डा. राम प्रसाद घिमिरेलाई सेबोन अध्यक्ष नियुक्तीका लागि अन्तरवार्ता डाक्न निर्देशन दिए ।

असोज ७ गते अर्थमन्त्री पौडेल चीन उडे भने छनौट समितिले असोज १० गते अन्तरवार्ताका लागि सूचना निकाल्यो । योजना आयोगका उपाध्यक्ष र अर्थ सचिव अर्थमन्त्री निकटका मानिन्छन् । योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारी पाल्पाली हुन् भने अर्थ सचिव डा. घिमिरे गुल्मेली हुन् । यी दुबैलाई ती जिम्मेवारीमा ल्याउन अर्थमन्त्री विष्णु पौडेलकै जोडवल थियो । पौडेलले लगानी बोर्डका सीईओ समेत आफू निकटका सुशिल ज्ञवालीलाई नियुक्त गरिसकेका छन् ।

सेबोनकै कारण सरकार ढल्यो

माओवादी अध्यक्ष तथा तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री वर्षमान पुनले धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ती प्रक्रियामा बिचौलियाहरुको स्वार्थ अनुकुल काम नगरेपछि आफ्नो सरकार नै ढाल्न लागिएको आरोप लगाउँदै आएका छन् । प्रचण्ड र पुनले संसद र सार्वजनिक समारोहहरुमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ती प्रकरणकै कारण आफ्नो सरकार ढालिएको विषयलाई अहिलेसम्म पनि निरन्तर उठाईरहेका छन् ।

तीन जना अन्तरवार्तामा गएनन्

धितोपत्र बोर्डमा अध्यक्ष बन्नका लागि १९ जनाले आवेदन दिएका थिए । तिमध्ये धितोपत्र बोर्डकै कार्यकारी निर्देशकद्धय डा. नवराज अधिकारी र मुक्तिनाथ श्रेष्ठ, नेपाल स्टक एक्सचेञ्जका सीईओ कृष्ण बहादुर कार्की, बीमा प्राधिकरणका तत्कालिन अध्यक्ष चिरञ्जीवी चापागाईँ र सन्तोष नारायण श्रेष्ठ अन्तरवार्ता र प्रस्तुतीकरणका लागि छनोट भएका थिए । उनीहरुमध्ये मुक्तिनाथ श्रेष्ठ र सन्तोष नारायण श्रेष्ठले अन्तरवार्ता दिएका थिए भने डा. अधिकारी, कार्की र चापागाईँले अन्तरवार्ता बहिष्कार गरेका थिए । अन्तरवार्ता बहिष्कार गर्ने तीनै जना माओवादी पार्टी निकट मानिन्छन् । उनीहरुलाई माओवादी पार्टीकै चाहना अनुसार अन्तरवार्तामा उपस्थित नगराईएको आरोप छ ।

नेप्सेका सीईओ कार्की चिनिएका माओवादी कार्यकर्ता हुन, उनलई नेप्सेमा पनि जनार्दन शर्मा अर्थमन्त्री भएका समयमा सीईओ बनाईएको थियो । चापागाईँलाई प्रचण्ड नेतृत्वको सरकारले तत्कालिन बीमा समितिको अध्यक्ष बनाएको थियो । डा. नवराज अधिकारी भने माओवादी अध्यक्ष प्रचण्डका नातेदार हुन् ।

अख्तियारमा उजुरी

सेबोन अध्यक्ष नियुक्त प्रक्रियामा ठूलो आर्थिक चलखेल भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । अहिलेको प्रक्रियामा पाँच अर्ब कमिसनको खेलको विषयमा अख्तियारमा उजुरी परेको, माओवादी अध्यक्ष प्रचण्ड र वर्षमान पुनले धितोपत्र बोर्डमा अध्यक्ष बनाउने विषयमै कुरा नमिलेपछि आफ्नो सरकार ढालिएको जस्ता आरोप लगाएकाले नयाँ प्रक्रियामा जानुपर्ने निष्कर्षमा ओली पुगेका थिए । तर अर्थमन्त्री पौडेलले प्रधानमन्त्री ओलीको चहान विपरीत अवरुद्ध सेबोन अध्यक्ष नियुक्त प्रक्रिया पुन थालनी गरेका छन् ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार