CLI

३४ प्रतिशतले घट्यो विदेशी लगानीकर्ताको लाभांश

काठमाडौं । विदेशी लगानीकर्ताले यस आर्थिक वर्षको नौ महिनामा गतवर्षको सोही अवधिको तुलनामा कम लाभांश लगेका छन् । गतवर्ष अर्थतन्त्रमा देखिएको संकुचनको असर वैदेशिक लगानीका उद्योग व्यवसायमा पनि परेको र त्यसको परिणाम लाभांश वितरणमा परेको देखिन्छ ।

उद्योग विभागका अनुसार विदेशी लगानीकर्ताले लैजाने लाभांश चालू आर्थिक वर्षको नौ महिनामा ३४ दशमलव ३० प्रतिशतले कमी आएको छ । गत आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म विदेशी लगानीकर्ताले १३ अर्ब ७७ करोड ४४ लाख रुपैयाँ लाभांश लगेकामा यस आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म नौ अर्ब चार करोड ८७ लाख रुपैयाँ लगेका छन् । गत वर्षभन्दा यस वर्ष चार अर्ब ७२ करोड ५७ लाख रुपैयाँ कम लाभांश देशबाट बाहिर बाहिरिएको छ । चैत महिनामा मात्र तीन करोड तीन लाख ४६ हजार रुपैयाँ लाभांश विदेशी लगानीकर्ताले लगेका छन् ।

विदेशी लगानीकर्ताले नेपालका विभिन्न उद्योग तथा व्यवसायमा लगानी गरी प्राप्त लाभांश मुनाफाको रूपमा लैजाने गरेको विभागले जनाएको छ । लगानी आएसँगै लाभांश रकम लैजाने क्रमले निरन्तरता पाउँछ जसले गर्दा हरेक महिना विदेशी लगानीकर्ताले नेपालबाट लाभांश रकम लैजाने गरेको विभागका विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाका निर्देशक शंकर सिहंधामीले बताए ।

विदेशी लगानीकर्ताले धेरैजसो उत्पादन, खानी र उत्खनन क्षेत्रमा गरेको लगानीबाट लाभांश लगेको पाइन्छ । लगानीकर्ताहरूले विद्युत् ग्यास र पानी, निर्माण, यातायात भण्डारण र सञ्चार, वित्तीय क्षेत्र, होटल तथा रेस्टुरेन्ट र शिक्षालगायतका क्षेत्रबाट समेत लाभांश लैजाने गरेका छन् । लाभांश वितरण सहज र सरल भएको हुँदा यसले विदेशी लगानी आउनलाई समेत प्रोत्साहन मिल्ने गरेको निर्देशक धामीले बताए । हरेक महिना विदेशी लगानीकर्ताहरू नेपालमा गरेको लगानी प्रतिफलस्वरूप लाभांश लैजाने गरेको पाइन्छ । लाभांश लैजानको लागि विभाग र राष्ट्र बैंकले आवश्यक सहयोग गर्दै आएको पाइन्छ ।

यस आर्थिक वर्षको साउनमा २० करोड ३० लाख रुपैयाँ, भदौमा चार करोड ७६ लाख रुपैयाँ, असोजमा एक करोड १४ लाख रुपैयाँ कात्तिकमा एक अर्ब नौ करोड ८१ लाख रुपैयाँ, मंसिरमा ३० करोड ५७ लाख रुपैयाँ लाभांश विदेशी लगानीकर्ताले लगेका छन् । यस्तै पुसमा आठ करोड ७३ लाख रुपैयाँ, माघमा ४६ लाख रुपैयाँ, फागुनमा ५१ करोड १८ लाख रुपैयाँ र चैतमा तीन करोड तीन लाख रुपैयाँ लाभांश बाहिरिएको छ ।

विभागका अनुसार १५ भन्दा बढी मुलुकका लगानीकर्ताले सो लाभांश लगेका हुन् । नेपालको उद्योग क्षेत्रमा लगानी गरी सबैभन्दा धेरै लाभांश लैजानेमा भारतीय लगानीकर्ता छन् । त्यसपछि क्रमशः आइरल्याण्ड, अष्ट्रेलिया, बेलायत, पाकिस्तान, मौरिसस, सिगांपुर, बंगलादेशका लगानीकर्ता छन् ।

यस आर्थिक वर्षको नौ महिनामा विदेशी लगानीकर्ताले रोयल्टीबापत सरकारलाई एक अर्ब ७० करोड १९ लाख ३६ हजार रुपैयाँ बुझाएका छन् । चैतमा मात्रै सरकारले १६ करोड ६१ लाख ५७ हजार रुपैयाँ रोयल्टी संकलन गरेको छ । गत आर्थिक वर्षको नौ महिनामा दुई अर्ब ११ करोड छ हजार रुपैयाँ रुपैयाँ रोयल्टी संकलन गरेको थियो । विभागले प्रत्येक महिना करिब दुई करोड रुपैयाँ देखि ३० करोड रुपैयाँबरारबर रोयल्टी संकलन गर्दै आएको छ । विभागले लाभांश वितरण रोयल्टी संकलनका साथै उद्योगको सेयर खरिद सम्झौता ९एसपीए० र साझेदारी सदस्यता सम्झौता ९एसएसए० लगायतका कामहरू गरेको छ । निर्देशक धामीका साउनदेखि चैत मसान्तसम्म विदेशी लगानीकर्ताले ४१ वटा उद्योगको लागि १२ अर्ब ९७ करोड ४५ लाख ६८ हजार रुपैयाँबराबरको सेयर खरिद सम्झौता ९एसपीए० र साझेदारी सदस्यता सम्झौता ९एसएसए० गरेका छन् । यस्तै ३३ वटा उद्योगका लागि प्रविधि हस्तान्तरण सम्झौता ९टीटीए० भएको छ । चैतमा मात्र छवटा उद्योगका लागि सात अर्ब ५९ करोड ५४ लाख रुपैयाँबराबरको एसपए र एसएसए सम्झौता गरिएको छ ।

विदेशी लगानीकर्तालाई लगानी ल्याउन र प्रतिफल लैजान ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५’ले सहजीकरण गरेको छ । सोही ऐनअनुसार लगानीकर्ताले आफ्नो लगानीको सेयर वा उद्योग पूर्ण वा आंशिकरूपमा बिक्री गरी कर चुक्ता गरी लगानी फिर्ता लैजान वा नाफा लैजान सक्नेछन् । यस्तो रकम राष्ट्र बैंकको स्वीकृति लिई लैजान सक्नेछन् । लाभांश लैजान राष्ट्र बैंकमा लगानी लेखाङ्कन अनिवार्य भएको हुनुपर्नेछ ।

‘औद्योगिक व्यवसाय ऐन–०७५’ अनुसार १० करोड रुपैयाँसम्म स्थिर पुँजी भएको साना, १० करोड रुपैयाँदेखि २५ करोड रुपैयाँसम्मको स्थिर पुँजी भएको मझौला र २५ करोड रुपैयाँभन्दा बढी स्थिर पुँजी भएको उद्योगमा विदेशी लगानी स्वीकृतिको काम विभागले दर्ता गर्छ ।

विभागका अनुसार यस आर्थिक वर्षको नौे महिनामा विदेशी लगानी प्रतिबद्धता ४३ अर्ब छ करोड रुपैयाँबराबरको आएको छ । लगानी प्रतिबद्धता सबैभन्दा धेरै चीन, भारत, हङकङ, अमेरिका र बेलायतलगायत दर्जनबढी मुलुकबाट आएको छ ।

Leave Your Comment

Related News