धरानको टिमले हात पार्यो, कलेज–टु–कार्ट्सको उपाधी

काठमाडौं । काठमाडौं विश्वविद्यालयका विद्याथीहरुको संस्था एसोसिएसन अफ मेकानिकल इन्जिनियरिङ स्टुडेन्टले आयोजना गरेको ‘अल नेपाल गो–कार्ट कम्पिटिसन कलेज–टु–कार्ट्स’ का विजेता धरानको आईओई, ईआरसी टिम बनेको छ ।

त्यसैगरी सम्पूर्ण इन्जिनियरिङ कलेजका विद्यार्थीहरु बिच भएको मोटरस्पोर्ट्स इन द बक्समा थापाथली क्याम्पसका किरण कार्की विजेता बने भने काठमाडौं विश्वविद्यालयका सुयांश ढुंगाना उपविजेता बने ।

त्यसैगरी बेस्ट इनोभेसन अवार्ड काठमाडौं विश्वविद्यालयको टिम पाइलाले पाएको छ ।

सरकारी ड्राइभिङ तथा राइडिङ लाइसेन्स प्राप्त सहभागीहरु नासा नेपालको ‘मोटर स्पोर्ट्स इन दि बक्स’ कार्यक्रममा सहभागी भएका थिए, जुन कार्ट्सको फरक प्रतियोगिता हो । यो अन्तर्राष्ट्रिय अटोमोबाइल फेडरेसन (एफआईए) को ग्रासरुट मोटर स्पोर्ट्सको नयाँ अभियान हो ।

काठमाडांै विश्वविद्यालयका विद्यार्थीहरुको इनोभेटिभ अभियान अभियान्ता २४ नामक वार्षिक फ्ल्यागसिप कार्यक्रमको सन्दर्भमा सो इभेन्ट सम्पन्न भएको हो ।

सो इभेन्टलाई नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) को ‘कलेज टु कार्ट्स’ इभेन्टसँग सम्बन्धन गरिएको छ । विजेतालाई नासा नेपालका सचिव निरज खड्का, सहकोषाध्यक्ष कमला क्षेत्री तथा नासा नेपाल र काठमाडांै विश्वविद्यालयका पदाधिकारीहरु लगायतले पुरस्कार वितरण गरे ।

धुलिखेलको हिमालयन मोटरल्याण्डमा सो इभेन्ट सम्पन्न भएको हो । यो भन्दा पहिले सो कार्यक्रमका सहभागीहरुको ट्रेनिङ तथा ओरिएन्टेसन काठमाडौं विश्वविद्यालयलको सभा हलमा भएको थियो । उक्त ओरिएन्टेसनमा कार्ट्सको डिजाइन तथा सुरक्षा विधि, प्रतियोगिताको नियमहरु, मार्सलिङ विधि तथा राष्ट्रिय मोटो स्पोर्ट्सको ड्राइभरको प्रशिक्षण, लाइसेन्सिङ तथा महिला कार्ट्स ड्राइभरको लागि छुट्टै प्रशिक्षण समेत दिइएको थियो ।

एफआईए वर्ल्ड काउन्सिल मेम्बर गोविन्द भट्टराई, काठमाडौं विश्वविद्यालयका प्रा.डा. डानियल तुलाधर र नासा नेपालका ट्रेनिङ तथा मार्सल कमिसनका प्रमुख यदुराज लामिछाने लगायतले प्रशिक्षण दिएका थिए ।

इभेन्टमा नेपालभरिका विभिन्न पाँचवटा इन्जिनियरिङ कलेजका छ वटा टिम र उनीहरुले तयार गरेका कार्ट्सहरुको प्रतिस्पर्धा भएको थियो र प्रत्येक टिमबाट सातजना गरी जम्मा ४२ विद्यार्थीहरुको सहभागिता रहेको थियो । त्यसैगरी मोटरस्पोर्ट्स इन द बक्समा एक महिला सहित १२ सहभागी थिए ।

विजयी उत्कृष्ट खेलाडीले आगामी वर्ष श्रीलंकामा हुने एसिया प्यासिफिक मोटोस्पोर्ट च्याम्पियनसिपमा नासा नेपालको तर्फबाट सहभागिताको अवसर पाउने छन् ।

विद्यार्थीहरुले सो इभेन्टमा आ–आफ्नो विज्ञता र कौशलता अनुरुप सीप, डिजाइन, सिर्जनशीलता प्रदर्शन गर्दै प्रतिस्पर्धामा उत्रेका थिए ।

सानिमा हाइड्रोपावर, डब्लुडीएन, नेपाल टेलिकम र अस्टेक नेपालद्वारा प्रायोजित तथा सहकार्य रहेको सो इभेन्ट नासा नेपालमा समेत आवद्ध रहेको छ । सो इभेन्टको कुल पुरस्कार राशी नगद एक लाख नगद रहेको छ । एक हप्ते सोसल मिडिया कन्टेस्टका विजेतालाई एक गुणस्तरीय कार्ट्सको हेल्मेट प्रदान गरिने समेत घोषणा गरिएको छ ।

नेपालमा नौलो र चुनौतीपूर्ण मानिएको मोटर स्पोर्ट्स विधामा काठमाडौं विश्वविद्यालय तथा विभिन्न इन्जिनियरिङ कलेजका बिधार्थीको उत्साह, क्रियाशीलता र प्रत्यक्ष सहभागिताले नयाँ इनोभेटिभ कार्यमा थप मद्दत पुग्नुका साथै नेपाली मोटो स्पोर्ट्स नयाँ उचाईमा पुग्ने विश्वास रहेको छ ।

इभेन्टको संयोजन आशीषमान रौनियार सहितको नासा नेपालका मार्सल तथा भोलेन्टियरले गरेका थिए ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार