काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आरोलो लागेको अवस्थामा रहेको अर्थतन्त्रलाई नकारात्मक बाटोबाट रोकेर सकारात्मक दिशामा फर्काइएको दाबी गरेका छन् । आइतबार अर्थमन्त्रालयका आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलले कांग्रेस–एमालेको गठबन्धन सरकार बन्नु अघि खराब अवस्थामा रहेको अर्थतन्त्र अहिले सुधारउन्मुख भएको दाबी गरेका हुन् ।
‘अर्थमन्त्रालयले डाटामा खेल्दैन । जे तथ्य हो, त्यही सार्वजनिक गर्छ । हरियो छ हरियो सार्वजनिक गर्छ, रातो पहेलो छ, त्यही सार्वजनिक गर्छ । डाटामा अर्थमन्त्रालयले चिटिङ गर्दैन,’ उनले भने ।
अर्थतन्त्रका परिसूचक निजी क्षेत्र, आन्तरिक सबैलाई सकारात्मक बनाउने प्रयास सरकारले गरेको छ । । अर्थतन्त्रको परिसूचक खराब अवस्थामा पुगिसकेकाले त्यहाबाट यहाँसम्म आउन समय लागेको उनको भनाइ छ ।
मन्त्रालयले सार्वजनिक गरेको तथ्य तथा सूचकहरुले त्यही बोलेको उनले बताए ।
साथै कानुन संशोधनपछि निजी क्षेत्र उत्साहित देखिएको उनले दाबी गरेका छन् ।
अध्यादेश संशोधनपछि निजी क्षेत्र र सम्बन्धित सरोकारवालाले सरकारलाई धन्यवाद दिइरहेको उनको भनाइ छ ।
उनले कुनै एउटा बैंक वा वित्तीय संस्थामा समस्या देखिएका आधारमा बैंकिङ क्षेत्र डुब्न लाग्यो भन्ने नकारात्मक टिप्पणी नगर्न आग्रह गरे। ‘सरकारले बैंक डुब्न दिँदैन । त्यसका लागि सरकार छ,’ उनले भने ।
यस्तै उनले निर्माण व्यवसायीको बक्यौता भुक्तानी गरिसकेको दाबी गरे । ‘निर्माण व्यवसायीले प्रक्रिया पूरा गरेर भुक्तानी दाबी गरेका सबै बिल सरकारले तिरिसकेको छ । भुक्तानी नपाएर आन्दोलन गर्ने चेतावनीको औचित्य छैन,’ उनले भने ।
नेपाल निर्माण व्यवसायी महासंघले भुक्तानी नपाएको भन्दै माघ १८ देखि सडक आन्दोलन गर्ने चेतावनी दिँदै आएको छ ।