वैदेशिक रोजगार बीमा व्यवसायमा १ अर्ब ६६ करोडको व्यवसाय, सबैभन्दा बढी सन नेपाल लाइफको व्यापार

काठमाडौं ।  वैदेशिक रोजगारीमा जाने युवाहरुलाई बीमा अनिवार्य हुदाँ जीवन बीमा कम्पनीहरुको व्यवसाय आक्रमक बनेको पाइन्छ । चालु आर्थिक वर्षको पुसमसान्तसम्मको अवधिमा जीवन बीमा कम्पनीहरुले वैदेशिक रोजगार बीमालेख बेचेर १ अर्ब ६६ करोड ३९ लाख बीमा प्रिमियम संकलन गरेका छन् । हाल नेपालमा सञ्चालित तीन लघु जीवन बीमा सहित १४ वटा कम्पनीले वैदेशिक रोजगारमा जाने नागरिकको बीमा गरेर उक्त प्रिमियम संकलन गर्छन् ।

नेपाल बीमा प्राधिकरणले वैदेशिक रोजगार बीमालाई पुलमार्फत् सञ्चालन गर्ने गर्छ । सो अनुरुप वैदेशिक रोजगार बीमा व्यवसायलाई प्राधिकरणले तोके बमोजिम बाँडफाँट गर्ने गर्छ ।

प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुरुप चालु आर्थिक वर्षको पुसमसान्तसम्मको अवधिमा १४ वटा जीवन बीमा कम्पनीले २३ लाख ५८ हजार ९८२ वटा वैदेशिक रोजगार बीमालेखा जारी गरी १ अर्ब ६६ करोड ३९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

कुल वैदेशिक रोजगार बीमा व्यवसायमा सन नेपाल लाइफको सबैभन्दा धेरै हिस्सा ४१.२४ प्रतिशत देखिएको हो। वैदेशिक रोजगार बीमालेख जारी गरेर यो कम्पनीले चालु आर्थिक वर्षको पुससम्म ६८ करोड ६२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

दोस्रोमा धेरै वैदेशिक रोजगार बीमा व्यवसाय गर्नेमा एसियन लाइफ रहेको छ। यो बीमालेख बिक्री गरेर कम्पनीले ३५ करोड ३१ लाख रुपैयाँ कुल बीमशुल्क आर्जन गरेको छ। यो बीमा व्यवसायको कुल व्यापारमा एसियन लाइफको हिस्सा २१.२२ प्रतिशत रहेको छ।

तेस्रोमा धेरै वैदेशिक रोजगार बीमा व्यवसाय गर्ने कम्पनीमा नेपाल लाइफ रहेको छ। यो बीमा व्यवसायमा नेपाल लाइफको हिस्सा ८.८२ प्रतिशत रहेको छ। कम्पनीले ६ महिनामा १४ करोड ६७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

समीक्षा अवधिमा  वैदेशिक रोजगार बीमालेख बिक्री गरेर नेसनल लाइफले ११ करोड ४७ लाख रुपैयाँ (६.८९ प्रतिशत), आइएमई लाइफले ९ करोड ८४ लाख रुपैयाँ (५.९२ प्रतिशत), सानिमा रिलायन्स लाइफले ८ करोड ४ लाख रुपैयाँ (४.८४ प्रतिशत) र  सूर्यज्योति लाइफले ६ करोड ७७ लाख रुपैयाँ (४.०७ प्रतिशत) बीमाशुल्क आर्जन गरेका छन्। रिलायबल नेपाल लाइफले ६ करोड २८ लाख रुपैयाँ (३.७८ प्रतिशत), सिटिजन लाइफले ४ करोड ७६ लाख रुपैयाँ (२.६८ प्रतिशत), हिमालयन लाइफले २२ लाख ६७ हजार रुपैयाँ (०.१४ प्रतिशत) र प्रभु महालक्ष्मी लाइफले १५ लाख ६५ हजार रुपैयाँ (०.०९ प्रतिशत) कुल बीमाशुल्क आर्जन गरेका छन्।

लघु जीवन बीमातर्फ गार्डियन माइक्रो लाइफले वैदेशिक रोजगार बीमालेख बिक्री गरेर ९ लाख ५० हजार रुपैयाँ, लिबर्टी माइक्रो लाइफले ८ लाख ३४ हजार रुपैयाँ र क्रेष्ट माइक्रो लाइफले ३ लाख २८ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। वैदेशिक रोजगार बीमा व्यवसायमा भने गार्डिन माइक्रो लाइफको हिस्सा ०.०६ प्रतिशत, लिबर्टी माइक्रो लाइफको ०.०५ प्रतिशत र क्रेष्ट माइक्रो लाइफको ०.०२ प्रतिशत रहेको छ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार