सिंहदरबारस्थित खानेपानी तथा सरसफाइ मन्त्रालयमा आगलागी

काठमाडौं ।काठमाडौंको सिंहदरबारस्थित खानेपानी तथा सरसफाइ मन्त्रालयको चौथो तलामा आज बिहान आगलागी भएको छ। प्रहरीका अनुसार आगलागी बिहान करिब ७ः४५ बजे सुरु भएको थियो। सोही तलामा खानेपानी तथा सरसफाइ मन्त्री प्रदीप यादवको कार्यकक्ष पनि रहेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले मन्त्री यादवको कार्यकक्षमा आगलागी भएको पुष्टि गरेका छन्। दमकल तथा सुरक्षाकर्मीको सक्रियतामा आगो छिट्टै नियन्त्रणमा लिइएको छ। समयमै सूचना प्राप्त भएकाले ठूलो क्षति हुन नपाएको एसपी बोहराले बताए।

घटना शंकास्पद देखिएकाले मन्त्रालयमा कार्यरत दुई जना सुरक्षा गार्डलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको प्रहरीले जनाएको छ। यसबारे विस्तृत अनुसन्धान जारी रहेको छ।

मन्त्रालयका तीनवटा कोठामा आगलागी भएको र क्षतिको विवरण संकलन कार्य भइरहेको छ। आगलागीको कारण स्पष्ट नभए पनि प्रारम्भिक अनुसन्धानका आधारमा विद्युत् सर्ट हुन सक्ने आशंका गरिएको छ। साथै, सिंहदरबारस्थित सोही भवनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसमेत रहेको छ।

प्रहरीले घटनाको विस्तृत छानबिन भइरहेको जनाएको छ। क्षतिको पूर्ण विवरण सार्वजनिक गर्न केही समय लाग्ने बताइएको छ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार