नेपालमा फोरजी प्रयोगकर्ताको संख्या २ करोड ५० लाख नाघ्यो

काठमाडौं । नेपालमा फोरजी सेवाका प्रयोगकर्ताको संख्या २ करोड ५० लाख ७५ हजार ४१९ पुगेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पुस मसान्तसम्मको एमआईएस रिपोर्ट अनुसार यो तथ्यांक देखिएको हो।

गत असार मसान्तमा मोबाइल ब्रोडब्यान्डमार्फत फोरजी प्रयोग गर्नेको संख्या २ करोड २२ लाख ३२ हजार ४१६ थियो। ६ महिनाको अवधिमा फोरजी प्रयोगकर्ता २८ लाख ४३ हजार ३ ले वृद्धि भई १२।७९ प्रतिशतले वृद्धि भएको देखिन्छ।

हाल नेपालमा मोबाइल ब्रोडब्यान्ड सेवा प्रदान गर्ने प्रमुख दुई सेवा प्रदायक नेपाल दूरसञ्चार कम्पनी लिमिटेड ९नेपाल टेलिकम० र निजी क्षेत्रको एनसेल रहेका छन्।

पुस मसान्तसम्म कुल फोरजी प्रयोगकर्तामध्ये नेपाल टेलिकमको १ करोड ३१ लाख तथा एनसेलको १ करोड १९ लाख रहेको छ। गत असारमा नेपाल टेलिकमको १ करोड ५२ लाख र एनसेलको ६९ लाख प्रयोगकर्ता थिए। यो अवधिमा नेपाल टेलिकमको प्रयोगकर्ता १३।८९ प्रतिशतले घट्दा एनसेलको प्रयोगकर्ता ७१।४६ प्रतिशतले वृद्धि भएको देखिन्छ।

थ्रिजी र टूजी सेवामा गिरावट

यस अवधिमा थ्रिजी प्रयोगकर्ताको संख्या तीव्र रूपमा घटेको छ। असार मसान्तसम्म ७५ लाख १९ हजार रहेका थ्रिजी प्रयोगकर्ता अहिले ९ लाख २३ हजारमा झरेका छन्। त्यस्तै, १४ लाख ५८ हजार प्रयोगकर्ता रहेको टूजी सेवा पूर्ण रूपमा विस्थापित भई शून्यमा झरेको छ।

नेपाल टेलिकमको थ्रिजी र टूजी सेवाको प्रयोगकर्ता संख्या असारमा क्रमशः ५६ लाख ८३ हजार र १४ लाख ५८ हजार रहेकोमा अहिले ७ लाख ७६ हजारमा झरेको छ। एनसेलको थ्रिजी प्रयोगकर्ता १८ लाख ३६ हजारबाट १ लाख ४७ हजारमा झरेको छ। एनसेलले टूजी सेवा पहिले नै विस्थापन गरिसकेको थियो।

ब्रोडब्यान्ड इन्टरनेट सेवामा वृद्धिः

ब्रोडब्यान्ड इन्टरनेट प्रयोगकर्ताको संख्या ६ महिनामा १ लाख ६८ हजारले वृद्धि भई २९ लाख ८३ हजार पुगेको छ। यो कुल इन्टरनेट प्रयोगकर्ताको तुलनामा १०।३० प्रतिशत हो। हाल ब्रोडब्यान्ड इन्टरनेट पहुँच ४४।७२ प्रतिशतमा पुगेको प्राधिकरणले जनाएको छ।

नेपाल टेलिकमको ब्रोडब्यान्ड इन्टरनेट प्रयोगकर्ता ३ लाख ५६ हजार र अन्य इन्टरनेट सेवा प्रदायकको २६ लाख ३६ हजार पुगेको छ। असारमा टेलिकमका प्रयोगकर्ता ३ लाख १३ हजार र अन्य प्रदायकका प्रयोगकर्ता २५ लाख ४ हजार थिए।

नेपाल टेलिकमले रेडियो वाईफाई सेवा विस्तार गरेको देखिन्छ। पछिल्लो ६ महिनामा मात्र २७ हजार ५२३ रेडियो वाईफाई जडान गरिएको छ। यद्यपि, अन्य इन्टरनेट सेवा प्रदायकको संख्या ६ हजार ७३८ बाट घटेर ४ हजार ३९० मा झरेको छ।

जीएसएम मोबाइल सेवामा गिरावट

यस अवधिमा जीएसएम मोबाइल प्रयोगकर्ताको संख्या ३ करोड ५६ लाखबाट घटेर २ करोड ९५ लाखमा झरेको छ। ९० दिनसम्म सक्रिय सिमको मात्र विवरण उल्लेख गरिएकाले यसको संख्यामा गिरावट देखिएको हो। असारमा २ करोड २४ लाख रहेको सिम संख्या पुस मसान्तसम्म १ करोड ४८ लाखमा झरेको छ।

एनसेलका प्रयोगकर्ताको संख्या भने १ करोड ३२ लाखबाट बढेर १ करोड ४७ लाख पुगेको छ। यस अवधिमा नेपाल टेलिकमको पीएसटीएन टेलिफोन प्रयोगकर्ता २ लाख ३० हजारबाट घटेर २६ हजारमा आइपुगेको छ भने एफटीटीएच टेलिफोन प्रयोगकर्ता ३ लाख ६६ हजारबाट बढेर ३ लाख ७१ हजार पुगेको छ। नेपाल टेलिकम हाल पीएसटीएन टेलिफोनलाई एफटीटीएचबाट प्रतिस्थापन गर्दै आएको छ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार