CLI

८२ कम्पनीको ५१ अर्बको आईपीओ आउँदै

काठमाडौं ।पुँजीबजारमा प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ)का लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)को पाइपलाइनमा रहेका कम्पनीको संख्या ८२ पुगेको छ ।
सेबोनका अनुसार कूल ५१ अर्ब ८ करोड ८७ लाख ३७ हजार ६३२ रुपैयाँ बराबरको आईपीओ पाइपलाइनमा छ । विभिन्न क्षेत्रका ८२ वटा कम्पनीको ३५ करोड ४८ लाख ६४५ कित्ता शेयर आईपीओका लागि बोर्डको प्रक्रियामा छ ।

होटल तथा पर्यटन क्षेत्रका ७ वटा कम्पनीले ३ अर्ब ३१ करोड १० लाख रुपैयाँ बराबरको ३ करोड ५३ लाख ६० हजार कित्ता आईपीओ जारी गर्न निवेदन दिएका छन् ।
साथै ४२ वटा जलविद्युत आयोजनाले कूल १८ अर्ब ३१ करोड ३३ लाख ८३ हजार ९३६ रुपैयाँ बराबरको १७ करोड ९० लाख ६१ हजार १९१ कित्ता आईपीओ जारी गर्नका लागि बोर्डको प्रक्रियामा रहेका छन् ।

लगानी समूहअन्तर्गत ३ कम्पनीले दुई अर्ब ८४ करोड ३३ लाख ५० हजार रुपैयाँ बराबरको १ करोड ५६ लाख ७३ हजार ५०० कित्ता आईपीओ जारी गर्नका लागि पाइपलाइनमा छन् । उत्पादन तथा प्रशोधनतर्फ १५ वटा कम्पनीले २२ अर्ब ६८ करोड ४७ लाख ७६ हजार ६९६ रुपैयाँ बराबरको ९ करोड १६ लाख ७५ हजार ६८४ कित्ता आईपीओ निष्कासनको प्रक्रियामा छन् ।

माइक्रो फाइनान्स अन्तर्गत १ कम्पनीले ८० लाख रुपैयाँ बराबरको ८० हजार कित्ता आईपीओ जारी गर्न सेबोनमा निवेदन दिएको छ ।
माइक्रो इन्स्योरेन्स समूह अन्तर्गत ३ कम्पनी ६७ करोड ५० लाख रुपैयाँ बराबराको ६७ लाख ५० हजार कित्ता आईपीओ जारी गर्नका लागि पाइपलाइनमा छन् ।

यस्तै अन्य समूह अन्तर्गत ११ कम्पनीको ३ अर्ब ३९ करोड ४२ लाख २७ हजार रुपैयाँ बराबरको २ करोड ७२ लाख २० हजार २७० कित्ता आईपीओ निष्कासनको प्रक्रियामा छन् ।

धितोपत्र बोर्डका अनुसार जलविद्युत समूहतर्फ सबैभन्दा धेरै ४२ वटा कम्पनीले आईपीओ निष्कासनका लागि बोर्डमा निवेदन दिएका छन् । सानिमा हाइड्रोपावर लिमिटेड, हिम स्टार ऊर्जा कम्पनी लिमिटेड, भुजुङ हाइड्रोपावर लिमिटेड, दरमखोला हाइड्रो इनर्जी लिमिटेड, सान्भी इनर्जी लिमिटेड, बेनी हाइड्रोपावर लिमिटेडलगायत कम्पनीको आईपीओ निष्कासन पाइपलाइनमा छ ।

त्यस्तै, यमलिंग हाइड्रोपावर लिमिटेड, मबिलुंग हाइड्रोपावर लिमिटेड, सोलु हाइड्रोपावर लिमिटेड, टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेड, विकास हाइड्रोपावर कम्पनी, कालिञ्चोक हाइड्रोपावर लिमिटेडलगायत कम्पनीहरु आईपीओ पाइपलाइनमा रहेका छन् ।

होटल तथा पर्यटन समूहअन्तर्गत ७ कम्पनीको आईपीओ पाइपलाइनमा छन् । यो समूहमा एपेक्स हस्पिटालिटी लिमिटेड, होटल फरेस्ट इन लिमिटेड, अर्केड होल्डिङ्स लिमिटेड, अन्नपूर्ण केबल कार, बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेड, अकामा होटल लिमिटेड, ठमेल प्लाजा होटल एण्ड स्वीट्स लिमिटेड आईपीओ निष्काशनका लागि पाइपलाइनमा छन् ।

लगानी समूहतर्फ वरुण इन्भेष्टमेन्ट लिमिटेड, सिड इनर्जी लिमिटेड र शिवम् होल्डिङ्स लिमिटेडले आईपीओ ल्याउँदैछन् । उत्पादन तथा प्रशोधन समूहतर्फ १५ कम्पनीको आईपीओ पाइपलाइनमा छ । एकोर्ड फर्मास्युटिकल्स लिमिटेड, एसवाई प्यानल नेपाल लिमिटेड, सूर्य सिमेन्ट इन्ड्रस्ट्रिज लिमिटेड, मारुती सिमेन्ट्स लिमिटेड, स्मार्ट डोर्स लिमिटेड, पाल्पा सिमेन्ट इन्ड्रस्ट्रिज लिमिटेड, ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडलगायत कम्पनीको आईपीओ आइँदैछ । त्यस्तै, लक्ष्मी टेक्नोप्लास्ट लिमिटेड, श्री डिस्टिलरी लिमिटेड, सोपान फर्मास्युटिकल्स लिमिटेड, भूगर्भ सिमेन्ट लिमिटेड, रिद्धिसिद्धि सिमेन्ट लिमिटेड, सागर डिस्टिलरी लिमिटेड र अम्बे स्टील्स लिमिटेडले आईपीओ ल्याउने तयारी गरिहेका छन् ।

अन्य समूहका ११ कम्पनी आईपीओ पाइपलाइनमा छन् । ट्रेड टावर लिमिटेड, कान्तिपुर टेलिभिजन नेटवर्क लिमिटेड, डिस मिडिया नेटवर्क लिमिटेड, आइएमई लिमिटेड, हस्पिटल फर एड्भान्स मेडिसिन एण्ड सर्जरी सर्जरी (हेम्स हस्पिटल) लिमिटेड, पिअर इनर्जी लिमिटेड, नेपाल ब्रोडकास्टिङ च्यानल लिमिटेड, कैलाश हेलिकप्टर सर्भिस लिमिटेड, छायादेवी कम्प्लेक्स लिमिटेड, बिजनेस इन्ट्रेस्ट ग्रुप अफ इन्ड्रस्टिज र जीआई सोलार लिमिटेडले आईपीओ ल्याउँदैछन् ।

माइक्रो इन्स्योरेन्स अन्तर्गत प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स, स्टार माइक्रो इन्स्योरेन्स र लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स आईपीको अनुमतिको पर्खाईमा छन् । यस्तै माइक्रो फाइनान्स तर्फ स्वस्तिक लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्काशनको अनुमति माग गर्दै सेबोनमा आवेदन दिएको छ ।

Leave Your Comment

Related News