केबुलकार निर्माणको पक्षमा ताप्लेजुङमा स्थानीयबासीको प्रदर्शन

काठमाडौं । ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा  मन्दिर जाने केबुलकार निर्माणमा  जिल्ला बाहिरका केही व्यक्तिहरुले अवरोध गर्न खोजेको भन्दै जिल्ला सदरमुकाम फुङलिङ बजारमा जनप्रदर्शन भएको  छ ।

बिरोध प्रदर्शनमा सहभागीले  स्थानीयहरु केबुलकारको पक्षमा रहेको, ताप्लेजुङको विकास रोक्न बाहिरी र असम्बन्धित व्यक्तिहरु लागेको  भन्दै छिटो केबुलकार निर्माण गर्न पाथीभरा देवी केबुलकार कम्पनीलाई आग्रह गरेका छन् ।

बिरोध प्रदर्शनमा सहभागीले लगानीमैत्री वातावरण सृजना गर्न सरकारलाई आग्रह गर्दै विभिन्न प्लाकार्ड र व्यानरसहित सदरमुकाम फुङलिङमा विशाल प्रदर्शन गरेका हुन् ।   उनीहरुले ताप्लेजुङको विकास र सम्मृद्धि रोक्न जिल्ला बाहिर र बसाई सरी अन्यत्र पुगेका मान्छे लागेको भन्दै त्यस्तो नगर्न नो केबकार समुहलाई आग्रह गरेका छन्  ।

ताप्लेजुङ विकास प्रेमी युवा समाजको आयोजनामा गरिएको विशाल प्रदर्शनमा जिल्लास्थित राजनीतिक दलका प्रतिनिधिहरु, जनप्रतिनिधि, नागरिक समाज तथा विभिन्न संघसंस्थाको सहभागि  रहेको  थियो ।

पाथीभरामा केबलकार बनाउँदा मन्दिरको एतिहासिकता र पहिचान गुम्ने भन्दै नो केबलकार सहुहको नाममा विरोध गरिरहेका छन् ।

पाथिभरामा केबलकार निर्माणको प्रसंग चार दशकअघि उठे पनि २०७२ मा पाथीभरा देवी दर्शन केवलकार प्रालिको स्थापना भएको हो ।

यस आयोजनाले २०७५ सालमा नेपाल सरकार मन्त्रीपरिषद्को निर्णयअनुसार केबलकार निर्माणको अनुमती लिएको थियो ।

करिब दुईवर्ष अघि पाथीभरा केबलकारमा आइएमई समूहको प्रवेशसँगै यो आयोजना निर्माणले गति लिन थालेको छ ।

नेपाल सरकारबाट प्राप्त गर्नुपर्ने सबै सरकारी तथा कानुनी अनुमतीहरु प्राप्त गरेपछि यस आयोजनालाई राष्ट्रिय प्राथमिकताको योजनाअन्तर्गत समावेश गरी आयोजना अघि बढाउने काम भएको छ ।

आइएमई समूहले मुलुकका सातवटै प्रदेशमा केबलकार सहितका पर्यटकीय गन्तब्यहरु बनाउने उद्देश्यसहित २०७९ सालमा यस केबलकारको ठूलो शेयर लिएर काम अगाडि बढाएको हो ।

कम्पनीले केबलकारका लागि आवश्यक जग्गाको भोगाधिकार प्राप्त गर्ने र नेपाल सरकारलाई सट्टा भर्ना जग्गा दिने काम सम्पन्न गरिसकेको छ ।

केबलकारको अलाइन्मेन्ट क्षेत्रमा पर्ने रुख कटान गर्ने र डीपीआर स्वीकृत गर्ने काम समेत सम्पन्न भई केबलकार निर्माण कार्यको औपचारिक शिलान्यास गरी यही महिनादेखि भौतिक निर्माणको काम सुरुभएको थियो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार