काठमाडौं । यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७०० माथि रहँदा पनि शेयर बजारका शतप्रतिशत सूचकहरु सकारात्मक बन्न सकेन । सातामा चार दिन खुलेको शेयर बजार सबै दिन बढ्दा पनि बजार पुँजीकरण रकम बढे पनि कारोबार रकममा भने गिरावट आयो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले उपलब्ध गराएका तथ्यांक अनुरुप गत साताको तुलनामा यो साता ६५ करोड ९६ लाखले कारोबार रकममा कमी आएको छ । गत साता ३९ अर्ब २४ करोड ४३ लाख रहेको कारोबार रकम यो साता ३८ अर्ब ५८ करोड ४६ लाखमा सीमित हुन पुगेको छ ।
कारोबार रकममा कमी आँउदा बजार पुँजीकरण रकम भने बढेको छ । गत साताको तुलनामा यो साता बजार पुँजीकरण रकम १ खर्ब ८ अर्ब ३५ करोडले बजार पुँजीकरण रकममा बढेको हो । गत साता ४४ खर्ब ४६ अर्ब ४६ करोड बजार पुँजीकरण रकम रहेकोमा यो साता ४५ खर्ब ५४ अर्ब ८१ करोड रहेको छ ।
कारोबार रकम, बजार पुँजीकरण रकम सँगै कारोबार कित्ता शेयरको संख्यामा पनि गिरावट आएको छ । गत साताको तुलनामा यो साता कारोबार कित्ता शेयर २७ लाख ३० हजारले कमी आएको हो । गत साता ७ करोड ५६ लाख ६३ हजार शेयर कित्ता कारोबार हुदाँ यो साता सो संख्या ७ करोड २९ लाख ३२ हजारमा सीमित भएको थियो ।
नेप्सेले उपलब्ध गराएको तथ्यांक अनुरुप नेप्से परिसूचक पनि २७०० माथि रहेको छ । यो साता नेप्से परिसूचक २७४३.७४ विन्दुमा पुगेर बन्द भएको छ । जुन गत साताको तुलनामा यो साता नेप्से परिसूचक ६५.२७ अंकले बढेको हो । गत साता नेप्से परिसूचक २६७८.४७ विन्दुमा पुगेर बन्द भएको थियो । यो साता सेन्सेटिभ इन्डेक्स भने ४५७.९८ विन्दुमा पुगेर बन्द भएको छ । जुन गत साताको तुलनामा ८.१ अंकले बढी हो । गत साता सेन्सेटिभ इन्डेक्स ४४९.८८ विन्दुमा पुगेर बन्द भएको थियो ।
नेप्सका अनुसार समीक्षा अवधिमा समूहगत परिसूचक पनि घटबढ भएको छ ।गत साताको तुलनामा यो साता बैंकिङ ३८, वित्त ६६, होटल र पर्यटन १९०, लगानी ३, जीवन बीमा ७२३, उत्पादन र प्रशोधन १००५, लघुवित्त १६६, , निर्जीवन बीमा ११५, व्यपाार १३४ र अन्य समूह १५१ अंकले बढेको हो । साथै विकास बैंक १०७, जलविद्युत १० र म्युअुचल फण्ड ०.०१ अंकले घटेको हो ।