काठमाडौं । सानिमा क्यापिटलले फागुन ६ गतेदेखि बिक्री खुला गरेको खुलामुखी सामूहिक लगानी कोष योजना (ओपन म्युचुअल फण्ड)को इकाई बिक्रीको आवेदन अवधि फागुन २० गतेसम्म थपिएको छ । मागअनुसार आवेदन नपरेपछि निष्काशन अवधि थपिएको हो ।
क्यापिटलले सानिमा म्युचुअल फण्ड अन्तर्गत संचालन हुने सानिमा फ्लेक्सी फण्डको इकाई निष्काशन गरेको हो ।
यस योजनाको आकार १ अर्ब रुपैयाँ अर्थात् प्रतिइकाई १० रुपैयाँको दरले १० करोड इकाई रहेको छ। जसमध्ये पहिलो चरणमा ४० प्रतिशत अर्थात् ४ करोड इकाई निष्काशन गरिएको छ । ४ करोड इकाई मध्ये १ करोड ३० लाख इकाई कोष प्रबर्द्धक सानिमा बैंकलाई तथा २० लाख इकाई कोष व्यवस्थापक सानिमा क्यापिटललाई छुट्याइएको छ।
बाँकी रहेको २ करोड ५० लाख इकाई सर्वसाधारणमा निष्काशन हुनेछ। आवेदन दिँदा न्युनतम १०० कित्ता र अधिकतम ४० लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
नेपाल धितोपत्र बोर्डले माघ २ गते क्यापिटललाई खुलामुखी सामूहिक लगानी कोष योजनाको इकाई निष्काशनको अनुमति दिएको थियो।
यस योजना एक खुलामूखी प्रकृतिको योजना भएकाले यसका इकाईहरु कुनै पनि धितोपत्र बजारमा सूचिकरण हुँदैनन् । यस योजनाको सार्वजनिक निष्काशनपश्चात् दोस्रो चरणमा सामूहिक लगानी कोष नियमावली, २०६७ वमोजिम योजनाको इकाई योजना व्यवस्थापक तथा योजना व्यवस्थापकले तोकेको वितरकहरु मार्फत निरन्तर खरिद बिक्रीको लागि खुल्ला हुनेछ।
जसअर्न्तगत यस योजनामा लगानी गर्न चाहने लगानीकर्ताहरुले योजना व्यवस्थापकको कार्यालय सम मार्ग, नक्साल वा तोकिएको वितरक कार्यालयहरु साथै अनलाईन मार्फत इकाई खरिदका लागी आवेदन दिएर वा व्यवस्थित लगानी योजनामार्फत सहभागी भइ लगानी गर्न सक्नेछन् ।