काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको १७ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्ड एन्ड बैंक्वेटमा सम्पन्न भएको हो ।
सभाले आर्थिक वर्ष २०७९/८०का लागि प्रस्तावित चुक्तापुँजी ८ अर्ब २ करोड ३ लाख ८६ हजार ६०२ रुपैयाँको १४ प्रतिशतले हुन आउने १ अर्ब १२ करोड २८ लाख ५३ हजार ७०४ रुपैयाँबराबरको बोनस शेयर अनुमोदन गरेको छ । बोनस शेयरमा लाग्ने कर भने स्वयं शेयरधनीहरुले नै तिर्नुपर्ने छ ।
बोनस शेयर वितरण गर्दा कायम हुन आउने दशमलबपछिको भिन्न अंकलाई सम्बन्धित शेयरधनीको नाममा पछि समायोजन गर्ने गरी यथावत रुपमा राख्ने प्रस्ताव सभाले अनुमोदन गरेको छ । बोनस शेयर वितरणपछि कम्पनीको चुक्ता तथा जारी पुँजी ९ अर्ब १४ करोड ३२ लाख ३७ हजार ३०६ रुपैयाँ कायम हुन आउने भएकोले वृद्धि हुने पुँजीलाई समावेश गरी प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गरेको छ ।
कम्पनीको प्रबन्धपत्र र नियमावलीमा नियमनकारी निकायबाट कुनै फेरबदल वा संशोधनका लागि निर्देशन भएमा सोहीबमोजिम गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने विशेष प्रस्ताव सभाले अनुमोदन गरेको छ ।
सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन स्वीकृत गर्नुका साथै सोही वर्ष हिमालयन लाइफमा मर्ज भएको साविक गुराँस लाइफ र युनियन लाइफ इन्स्योरेन्सको आर्थिक वर्ष २०७९/८० को (मर्जअघिसम्मको) लेखापरीक्षक प्रतिवेदन, वासलात तथा नाफा–नोक्सान हिसाब एवं नगद प्रवाह विवरण र तत्सम्बन्धी अनुसूचीहरु तथा नेपाल वित्तीय प्रतिवेदन मान (एनएफआरएस) बमोजिम तयार गरिएको वित्तीय विवरण माथि छलफल गरी पारित गरेको छ । सभाले आर्थिक वर्ष २०८०/८१ का लागि बाह्य लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण लगायतका प्रस्ताव अनुमोदन गरेको छ ।