काठमाडौं । यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २८०० माथि रहँदा शेयर बजारका अधिकांश सूचकहरु सकारात्मक रह्यो । निरन्तर आठ दिन बढेको शेयर बजारले गर्दा कारोबार रकम र बजार पुँजीकरण रकम दुवैमा वृद्धिदर देखियो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले उपलब्ध गराएका तथ्यांक अनुरुप गत साताको तुलनामा यो साता५ अर्ब ३५ करोड ९ लाखले कारोबार रकम बढेको छ । गत साता ३८ अर्ब ५८ करोड ४६ लाख रहेको कारोबार रकम यो साता ४३ अर्ब ९३ करोड ५५ लाखमा सीमित हुन पुगेको छ ।
कारोबार रकम बढ्दा बजार पुँजीकरण रकम पनि बढेको छ । गत साताको तुलनामा यो साता बजार पुँजीकरण रकम १ खर्ब १९ अर्ब ४३ करोडले बजार पुँजीकरण रकम बढेको छ । गत साता ४५ खर्ब ५४ अर्ब ८१ करोड बजार पुँजीकरण रकम रहेकोमा यो साता ४६ खर्ब ७४ अर्ब २४ करोड रहेको छ ।
कारोबार रकम, बजार पुँजीकरण रकम सँगै कारोबार कित्ता शेयरको संख्यामा पनि बढेको छ । गत साताको तुलनामा यो साता कारोबार कित्ता शेयर १ करोड ३४ लाख ४९ हजारले बढेको हो । गत साता ७ करोड २९ लाख ३२ हजार शेयर कित्ता कारोबार हुदाँ यो साता ८ करोड ६३ लाख ८२ हजार शेयर कित्ता कारोबार संख्या पुगेको छ ।
नेप्सेले उपलब्ध गराएको तथ्यांक अनुरुप नेप्से परिसूचक पनि २८०० माथि रहेको छ । यो साता नेप्से परिसूचक २८१५.०४ विन्दुमा पुगेर बन्द भएको छ । जुन गत साताको तुलनामा यो साता नेप्से परिसूचक ७१.३ अंकले बढेको हो । गत साता नेप्से परिसूचक २७४३.७४ विन्दुमा पुगेर बन्द भएको थियो । यो साता सेन्सेटिभ इन्डेक्स भने ४६९.८२ विन्दुमा पुगेर बन्द भएको छ । जुन गत साताको तुलनामा ११.८४ अंकले बढी हो । गत साता सेन्सेटिभ इन्डेक्स ४५७.९८ विन्दुमा पुगेर बन्द भएको थियो ।
नेप्सका अनुसार समीक्षा अवधिमा समूहगत परिसूचक पनि घटबढ भएको छ । गत साताको तुलनामा यो साता बैंकिङ ४८, किास बैंक ४७, जलविद्युत ४०, लगानी ५, जीवन बीमा २१५, लघुवित्त ०.०७ र अन्य समूह २३६ अंकले बढेको छ ।
साथै वित्त ६०, होटल र पर्यटन १५, उत्पादन र प्रशोधन ५११, लघुवित्त २९, निर्जीवन बीमा २५ र व्यपाार १२९ अंकले घटेको हो ।