एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १२.७५ रुपैयाँ बढ्ने, आन्दोलन फिर्ता

काठमाडौं । खाना पकाउने एलपी ग्यासको मूल्य बढ्ने भएको छ । मंगलबार सरकार र एलपी ग्यास उद्योगीबीच प्रतिसिलिन्डर १२.७५ पैसा मूल्य बढाउने सहमति भएको हो ।  मूल्यवृद्धिपछि अब तिसिलिन्डर ग्यासको मूल्य एक हजार ९१० रुपैयाँ पर्नेछ ।

एलपी ग्यास उद्योग संघले  गएको माघमा १९ बुँदे मागसहित विभिन्न चरणको आन्दोलनको घोषणा गरेको थियो । विभिन्न चरणको आन्दोलन अन्तर्गत संघले फागुन १८ गतेदेखि देशभरका  उद्योगहरू अनिश्चितकालका लागि बन्द गरेको थियो भने बिहीबारदेखि देशभरिका ग्यास विक्रेता डिपोहरू बन्द गर्न आह्वान गर्ने घोषणा गरेको थियो ।

आन्दोलनरत संघसँग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की सहितका सरकारी प्रतिनिधि मण्डलले मंगलबार वार्तागरी विभिन्न ५ बुँदे सहमति गरेको हो ।

सहमतिअनुसार ग्यास उद्योगहरूको बाह्य ढुवानी भाडा, आन्तरिक ढुवानी भाडा, सञ्चालन तथा प्रशासनिक खर्च रकममा समायोजन गरी साविकको खर्चमा प्रतिसिलिन्डर १२ रुपैयाँ ७५ पैसाले वृद्धि गर्ने, एलपी ग्यास उद्योगको खर्चमा समायोजन गरिएपछि पनि मुनाफा प्रतिशतमा हुनुपर्ने मागलाई निरन्तरता दिई मिति २०८१ फागुन १८ गतेदेखि ग्यास उद्योगीहरूले निगमबाट पीडीओ नउठाएको र सो कारणले बजारमा एलपी ग्यास आपूर्ति असहज बन्न थालेको परिस्थितिलाई मध्यनजर गर्दै हाल ग्यास उद्योगीलाई दिइँदै आएको मुनाफा प्रतिसिलिन्डर फ्ल्याट रकममा प्रदान गर्ने वा निश्चित प्रतिशतमा प्रदान गर्ने भन्ने सम्बन्धमा निगमले उपसमिति बनाइ अध्ययन कार्य अगाडि बढाउने, निगम र संघ दुवै पक्षको समन्वयमा सम्बोधन गर्न सकिने मागहरू निगम व्यवस्थापनले सम्बोधन गर्ने, निगमले सम्बोधन गर्न नसक्ने अन्य मागहरूका सम्बन्धमा आवश्यक गृहकार्य गरी सञ्चालक समिति तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पेस गर्ने र संघले राखेका माग माथि उल्ललेख भए बमोजिम सम्बोधन गर्ने सहमति भएकाले नेपाल एलपी ग्यास उद्योग संघले हाल जारी राखेको विरोधका सम्पूर्ण कार्यक्रम आजदेखि फिर्ता लिने र आजदेखि नै सबै ग्यास उद्योगीले निगमबाट नियमित पीडीओ लिई एलपी ग्यास आपूर्ति सहज बनाउने सहमति भएको हो ।

उक्त सहमतिपछि संघले एक विज्ञप्ति जारी गर्दै आजैदेखि आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको र निगमबाट उपलब्ध हुने ग्यासको सहज आपूर्ति मिलाउने बताएको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार