काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासमा केही उच्च देखिएको महँगी दर माघ लागेसँगै घटेको छ । माघमा वार्षिक बिन्दुगत मुद्रास्फीति ४.१६ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
गत आर्थिक वर्ष २०८०/८१ को माघमा वार्षिक बिन्दुगत मुद्रास्फीति ५.०१ प्रतिशत थियो ।
गैर खाद्य तथा सेवा समूहभन्दा खाद्य तथा पेय पदार्थ समूहको महँगी उच्च रहेको देखिन्छ । माघमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.९५ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.७४ प्रतिशत छ ।
राष्ट्र बैंकका तथ्यांकअनुसार उपभोक्तानको दैनिक भान्सा प्रयोग हुने तेल घ्यु, दाल तथा गेडागुडी र तरकारीको भाउ उच्च दरमा बढेको छ । माघमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यु तथा तेल उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक १२.८० प्रतिशत, दाल तथा गेडागुडीको ९.०६ प्रतिशत, तरकारीको ७.५६ प्रतिशतले बढेको छ । यस्तै खाद्य तथा खाद्यजन्य पदार्थको ६.३६ प्रतिशतले बढेको छ । मरमसला उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक भने २.९८ प्रतिशतले घटेको छ ।
गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक १०.९१ प्रतिशतले बढेको छ । कपडाजन्य तथा जुत्ताचप्पलको उपभोक्ता मूल्य सुचकांक ५.३६ प्रतिशत, मदिराजन्य पेय पदार्थको ५.०८ प्रतिशत, यातायातको ५.०१ प्रतिशत, सुर्तीजन्य पदार्थको ४.१० प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणको ४.०७ प्रतिशतले बढेको छ ।
माघ महिनामा ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ४.७३ प्रतिशतले बढेको छ । सोही अवधिमा सहरी क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ३.९६ प्रतिशतले बढेको छ ।
प्रदेशगत कोशी प्रदेशको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.१५ प्रतिशत, मधेश प्रदेशको ३.९१ प्रतिशत, बागमती प्रदेशको ३.३५ प्रतिशत, गण्डकी प्रदेशको ३.४० प्रतिशत, लुम्बिनी प्रदेशको ४.१६ प्रतिशत, कर्णाली प्रदेशको ४.०५ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ४.७१ प्रतिशत रहेको वार्षिक बिन्दुगत मुद्रास्फीति छ ।
यस्तै काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.५३ प्रतिशत, तराईको ४.२५ प्रतिशत, पहाडको ४.११ प्रतिशत र हिमालको ५.२१ प्रतिशत छ ।
माघको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ३.४७ प्रतिशत छ । गत आर्थिक वर्षको माघमा यस्तो मुद्रास्फीति २.८२ प्रतिशत रहेको थियो ।