काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले १० निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले आज सार्वजनिक जारी गरेको सूचना अनुसार दुई कम्पनीलाई डेढ वर्ष र अरुलाई एक वर्षसम्मका लागि कालोसूचीमा राखेको हो ।
कार्यालयले कालोसूचीमा राखेका कम्पनीहरुमा तारालक्ष्मी निर्माण सेवा गुल्मी र ममता मञ्जु कन्स्ट्रक्सन प्रालि काठमाडौं डेढ वर्षका लागि कालोसूचीमा राखेको छ । उनीहरुलाई कालोसूचीमा राख्न गुल्मीको धुर्कोट गाउँपालिका कार्यालयले सिफारिस गरेको थियो ।
यसैगरी सनम निर्माण सेवा संखुवासभा, निर्जरा निर्माण सेवा सभापोखरी गाउँपालिका कार्यालयको सिफारिसको आधारमा एक वर्ष कालोसूचीमा परेका छन् । त्यस्तै, इन्द्रेणी बिल्डर्स एण्ड सप्लायर्स प्रालि काठमाडौं पनि एक वर्षका लागि कालोसूचीमा परेको छ । यसलाई कालोसूचीमा राख्न डोटीको शिखर नगरपालिका ९ स्थित सीताराम माविले सिफारिस गरेको थियो ।
यसैगरी जीएस निर्माण संसार कम्पनी र कमन कन्स्ट्रक्सन पनि एक वर्षका लागि कालोसूचीमा परेका छन् । यसैगरी निर्माण सेवा,रफिना एण्ड कन्स्ट्रक्सन र राम निर्माण कन्स्ट्रक्सन पनि एक वर्षका लागि कालोसूचीमा परेका छन् ।