काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयर बजार घटेको छ ।
सोमबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक १०.१४ अंकले घटेर २७०४.७० विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ०.९५ अंकले घटेर ४५३.९५ विन्दुमा पुगेर बन्द भएको छ । साथै फोल्ट इन्डेक्स ०.३७ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.३६ अंकले घटेको हो । यो सँगै शेयर बजार घटेको आठौं दिन बुधबार मात्र बढेको थियो भने आइतबार र सोमबार पुनः शेयर बजार घटेको हो ।
सोमबार ३३१ वटा कम्पनीको ९९ लाख ३५ हजार ८७२ कित्ता शेयर कारोबार हुँदा कारोबार रकम ५ अर्ब ४० करोड ८३ लाख १४ हजार पुगेको छ । पछिल्लो सयममा कारोबार रकममध्ये यस दिन सबैभन्दा कम हो । यसअघि पुस २८ गते ३ अर्ब ९४ करोड ५९ लाख कारोबार रकम पुगेको थियो ।जुन शेयर बजारको न्यून कारोबार हो । आइतबारको तुलनामा भने १ अर्ब ४२ करोड ८३ लाख २६ हजारले कम हो । आइतबार ३१६ वटा कम्पनीको १ करोड ३९ लाख ७४ हजार कित्ता शेयर कारोबार हुँदा कारोबार रकम ६ अर्ब ८३ करोड ६६ लाख ४० हजार पुगेको थियो ।
सोमबार ८५ वटा कम्पनीकोे शेयर मूल्य बढ्दा १४५ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने १३ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
यस दिन ४ वटा उपसमूह बढ्दा बाँकी ९ वटा उप समूह घटेको छ । वित्त ३, होटल र पर्यटन १२, लगानी ०.२० र उत्पादन र प्रशोधन ३३ अंकले बढ्दा बैंकिङ ३, विकास बैंक ५३, जलविद्युत ८, जीवन बीमा ७१, लघुवित्त ०.८८, म्युअुचल फण्ड ०.००, निर्जीवन बीमा ३, व्यापार १४६ र अन्य समूह १४ अंकले घटेको हो ।
यस दिन रकमको आधारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुमा हिमालयन रिइन्स्योरेन्स, नेपाल रिइन्स्यारेन्स, महालक्ष्मी विकास बैंक, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनी र सिइडीबी होल्डीङस लिमिटेड रह्यो । हिमालयन रिइन्स्योरेन्सको ४३ करोड ९३ लाख, नेपाल रिइन्स्यारेन्सको ३० करोड ७४ लाख, महालक्ष्मी विकास बैंकको २२ करोड ३५ लाख, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको २० करोड ५९ लाख र सिइडीबी होल्डीङस लिमिटेडको १८ करोड बराबर करोबार भयो ।