CLI

आज संघीय संसद्को दुवै सदनका बैठक बस्दै

काठमाडौं । बिहीबार प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक बस्ने भएको छ । बिहान ११ बजेका लागि निर्धारित प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी ओलीले ‘लोकसेवा आयोगको ६५औँ वार्षिक प्रतिवेदन (२०८० साउन २०८१ असार)’ पेस गर्नेछन्।

बैठकमा अर्थ, गृह, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर सम्बन्धित मन्त्रीहरूले दिनेछन् ।संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिनेछ ।

बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव र ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ ।

यसैगरी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘निकासी पैठारी (नियमन) विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ । त्यसैगरी, राष्ट्रिय सभाको बैठक मध्याह्न १२:१५ बजेका निम्ति निर्धारण गरिएको छ । यद्यपि, संसद् सचिवालयले सभाको सम्भावित कार्यसूची प्रकाशन गरेको छैन ।

Leave Your Comment

Related News