काठमाडौं । लेखा व्यवसायीको चौथो राष्ट्रिय सम्मेलन मंगलबारदेखि सुरु हुने भएको छ । कर र सार्वजनिक वित्तीय व्यवस्थापनको आधुनिकीकरणमार्फत अर्थतन्त्रको रूपान्तरण’ भन्ने नाराका साथ लेखा व्यवसायीको सम्मेलन आयोजना हुन लागेको आयोजक नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले जानकारी दिएको छ ।
मंगलबार हुने उद्घाटन कार्यक्रममा आइक्यानका अध्यक्ष प्रवीणकुमार झा र अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सम्बोधन गर्ने कार्यक्रम छ । कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारी, डेपुटी महालेखा परीक्षक वामदेव शर्मा अधिकारी र दक्षिण एसियाली लेखा महासंघ अध्यक्ष असाफाक युसुफ तोलासमेत उपस्थित रहने बताइएको छ । कार्यक्रम अवधिभर लेखा व्यवसायी, नीति–निर्माता, शिक्षाविद्, उद्योगी तथा विद्यार्थीमाझ कर प्रणाली तथा सार्वजनिक वित्तीय व्यवस्थापनको आधुनिकीकरण विषयमा अन्तक्र्रिया हुने आयोजकले जनाएको छ । दुई दिनसम्म चल्ने सम्मेलनमा पाँच प्राविधिक तथा दुई पूरकसहित कुल सात सत्र सञ्चालन हुँदै छन् ।
सम्मेलनले लेखा पेसाको उन्नति र आर्थिक विकासमा समेत योगदान पु¥याउन मद्दत पुग्ने अपेक्षा गरिएको छ । सात सेसनमा ३५ वक्ता सहभागी हुनेछन् । चारजनाले प्रस्तुति दिनेछन् । पाँचजना अन्तर्राष्ट्रिय प्रतिनिधिसमेत उपस्थित हुने आयोजकले बताएको छ । सम्मेलनमा राष्ट्रिय–अन्तर्राष्ट्रिय गरी करिब एक हजारको सहभागिता रहने अनुमान गरिएको छ । चार्टर्ड एकाउन्टेन्ट संघका अध्यक्ष अरुण राउत र अडिटर्स एसोसिएसन अध्यक्ष बद्रीप्रसाद भट्टराईको समेत उपस्थिति रहनेछ । आइक्यान उपाध्यक्ष नीलबहादुर मगरले कार्यक्रम समापन गर्ने योजना छ ।