चैतेदसैँमा मात्रै ४२ लाख भेटी सङ्कलन

बलेवा (बागलुङ) । बागलुङ कालिका मन्दिरमा चैतेदसैँमा मात्रै रु ४२ लाख भेटी सङ्कलन भएको छ। गण्डकी प्रदेशको प्रसिद्ध शक्तिपीठका रुपमा रहेको मन्दिरमा चैत्राष्टमीको नवदुर्गामा दर्शनका लागि आएका दर्शनार्थीले उक्त भेटी चढाएका हुन्।

कालिका मन्दिरमा यस पटकको चैतेदसैँ (नवरात्रि)को अवसरमा रु ४२ लाख ६३ हजार १५५ भेटी सङ्कलन भएको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए। उनले यस वर्ष चैतेदसैँको दिन (अष्टमी)मा सबैभन्दा बढी भेटी सङ्कलन भएको बताए। उक्त दिन रु ११ लाख ८१ हजार ५९० सङ्कलन भएको छ।

खड्काले गतवर्ष चैतेदसैँको तुलनामा यस वर्ष रु एक लाख ९० हजार ५९७ बढी भेटी सङ्कलन भएको बताए। गत वर्षको चैतेदसैँको अवसरमा मन्दिरमा रु ४० लाख ७२ हजार ५५८ भेटी सङ्कलन भएको थियो। मन्दिर दर्शन गर्ने भक्तजनले भेटी, नगद सहयोग र बलिलगायतबाट उक्त भेटी चढाएका हुन्। कालिका मन्दिरमा बडादसैँ र चैतेदसैँमा सबैभन्दा बढी भेटी सङ्कलन हुँदै आएको छ।

चैतेदसैँ अवधिभर छ लाख बढी दर्शनार्थीले कालिका मन्दिरको दर्शन गरेको अध्यक्ष खड्काको भनाइ छ। उनले गत वर्षको चैतेदसैँमा भन्दा अहिले बढी दर्शनार्थीले मन्दिरको दर्शन गर्दा भेटी सङ्कलनमा वृद्धि भएको बताए। अष्टमीका दिनमा मात्र रु तीन लाख भक्तजनले मन्दिरको दर्शन गरेको अध्यक्ष खड्काको भनाइ छ।

चैतेदसैँमा बागलुङ कालिका मन्दिर परिसरमा यस वर्ष धार्मिक सम्मेलन र मेलाको आयोजना गरिएको थियो। अध्यक्ष खड्काले धार्मिक सम्मेलनले भक्तजनको वृद्धिमा सहयोग पुगेको बताए। यस्तै मन्दिरमा दर्शन गर्न आउने भक्तजनलाई प्रसादका रुपमा खिर वितरण गरेको थियो। अध्यक्ष खड्काले दैनिक १०० देखि २०० लिटर दूध खपत गरिएको बताए। ‘मन्दिरमा उपस्थित हुने भक्तजनलाई प्रसादको रुपमा खिर उपलब्ध गराएका थियौँ’, उनले भने, ‘प्रसाद वितरणमा रु पाँच लाख खर्च भएको छ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार