मेलम्चीको पानी वितरणमा ६८ हजारभन्दा बढी घरमा नयाँ मिटर जडान

काठमाडौं । आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी) अन्तर्गत मेलम्ची उप–आयोजना २ मार्फत काठमाडौं उपत्यकाका विभिन्न स्थानमा निर्माण गरिएका खानेपानी वितरण सञ्जाल (डीएमए) का नयाँ पाइपलाइनबाट खानेपानी आपूर्ति हुँदै आएको छ। यिनै पाइपलाइनबाट पानी लिइरहेका घरहरूमध्ये यही चैत १८ गतेसम्ममा ६८ हजार ६८३ घरमा नयाँ पानी मिटर निःशुल्क रूपमा जडान गरिएको छ।

यसअघि काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डलाई हस्तान्तरण गरिएका १४ वटा सञ्जाल तथा हाल हस्तान्तरणको तयारीमा रहेका थप ११ वटा सञ्जालमार्फत पानी पाइरहेका करिब ८५ प्रतिशत घरमा मिटर जडान भइसकेको छ। बाँकी घरहरूमा समेत निःशुल्क मिटर जडान गर्ने काम जारी छ।

त्यस्तै, नमूनाका रूपमा चःमती क्षेत्रमा ३७० र अनामनगर क्षेत्रमा ४६७ गरी कुल ८३७ घरमा स्मार्ट मिटर जडान गरिएको छ। यी मिटरहरूको रिडिङ काठमाडौं उपत्यका खानेपानी लिमिटेडको पानीपोखरीस्थित केन्द्रीय नियन्त्रण कक्षबाट अत्याधुनिक एससीएडीए प्रणालीमार्फत लिइनेछ।

यससँगै अन्तिम परीक्षण लगायतका प्रक्रिया पूरा भइसकेका थप ११ वटा सञ्जालका करिब ३७७ किलोमिटर पाइपलाइनको स्वामित्व बोर्डलाई हस्तान्तरण गर्ने काम अन्तिम चरणमा पुगेको छ। बाँकी रहेका ८ सञ्जालका २५३ किलोमिटर पाइपलाइनको परीक्षण तथा हस्तान्तरण कार्यलाई समेत तीव्रता दिइएको छ।

यसअघि दुई चरणमा १४ वटा सञ्जालका ३५० किलोमिटर पाइपलाइनको स्वामित्व बोर्डलाई हस्तान्तरण भइसकेको छ। हालसम्म काठमाडौं उपत्यकामा करिब ३० किलोमिटर प्राइमरी पाइपलाइन र ३३ वटा वितरण सञ्जालमार्फत करिब ९८० किलोमिटर नयाँ पाइपलाइन बिछ्याइएको छ, जसअनुसार कुल १,०१० किलोमिटर नयाँ पाइपलाइन सञ्जाल तयार भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार