CLI

ऊर्जासचिवलाई राज्यमन्त्रीले सोधे स्पष्टीकरण : तपाईँलाई किन कारबाही नगर्ने ?

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)ले ऊर्जासचिव सुरेश आचार्यलाई स्पष्टीकरण सोधेका छन् ।

बिहीबार स्पष्टीकरण सोधिएको पत्र पठाउँदै राज्यमन्त्री तामाङले गत चैत २४ गते जलस्त्रोत तथा सिंचाइ विभागले आयोजना गरेको कार्यक्रममा मन्त्री दीपक खड्का अनुपस्थित हुँदा आफू प्रमुख अतिथिका रुपमा कार्यक्रममा रहेको अवस्थामा  विभागको सभाहलमा प्रवेशको क्रममा कार्यक्रम संचालकले उद्घाटन समारोहको क्रममा आसनग्रहणको लागि बोलाउँदा समेत मञ्चमा सहभागी नभई बेवास्ता गरी सचिव आचार्य बाहिरिएको पत्रमा उल्लेख छ ।

साथै विभागका महानिर्देशक संजिव बरालले पटक-पटक आसनग्रहणको लागि आग्रह गर्दा पनि राज्यमन्त्री सहभागी कार्यक्रममा आफू बस्न तयार नभएको सचिवले बताएको पत्रमा उल्लेख छ । पत्रमा भनिएको छ, ‘राज्यमन्त्री सहभागी कार्यक्रममा आफू बस्न तयार नभएको तुच्छ अभिव्यक्ति दिएको, पदीय आचरण पालना नगर्नुको साथै पदीय गरिमा समेत कायम गर्ने नसकेको, नेपाल सरकारको सचिव पदको गरिमा र मर्यादालाई समेत धज्जी उडाउने गरि कार्यक्रम बहिष्कार गरेको तपाईलाई अनुशासनको कारबाही किन गर्नुनपर्ने हो ? तपाईंको अव्यवस्थित र असंयमित व्यवहारले मन्त्रालयको प्रतिष्ठा र कार्यपद्धतिमा असर पुर्याएकाले तपाईलाई किन कारबाही गर्नुनपर्ने हो? तपाईंले के कस्को प्रभाव वा पूर्वाग्राही भावनाले विभागीय मन्त्रीको अपहेलना गर्ने उद्देश्यले कार्यक्रम बहिष्कार गर्नुभएको हो?’

२४ घण्टाभित्र स्पष्टिकरण पेश गर्नसमेत राज्यमन्त्री तामाङले निर्देशन दिएका छन् ।

निजामती सेवा ऐन २०४९ को दफा ४२(३) विपरीतको कार्य गरेको, आफू मातहतको विभागले गरेको कार्यक्रममा विभागीय मन्त्री (मन्त्री अनुपस्थित हुँदा) प्रमुख अतिथिको रुपमा उपस्थित भएकोमा पदीय आचरण विपरितको कार्य गरेकाले निजामती सेवा २०५९ को दफा ५९ बमोजिमको सजाय किन नगर्नुपर्ने हो ? भनी स्पष्टीकरण सोधिएको छ ।

Leave Your Comment

Related News