काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । नेपाली सेनाको भर्ना छनोट निर्देशनालयले जंगी अड्डाले सैन्य पददेखि प्राविधिक, हवाई र विविध सेवातर्फ पदीक र बिल्लादार पदहरुका लागि आवेदन खुलाएको हो ।
आज प्रकाशित सूचनाअनुसार सैन्य पददेखि पण्डित र फोटोग्राफरसम्म तीन ४०१ कर्मचारी माग गरिएको छ ।
जसअन्तर्गत तीन हजार जनशक्ति सैन्य पदका लागि माग गरिएको छ । सैन्य पदका लागि स्वास्थ्य परीक्षणबाट योग्य ठहरिएको, नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, तत्काल कुनै राजनैतिक दलको सदस्य नरहेको, कुनै अपराधिक गतिविधिमा संलग्न नभएको वा नरहेको, कुनै ध्वंसात्मक उद्देश्य भएको संस्थाको सदस्य नभएको वा नरहेको, नेपाल विरुद्ध जासुसी गरेको अभियोगमा सजाय नपाएको, मानव अधिकार र मानवीय कानुनको उल्लंघनमा सजाय नपाएको तथा भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त नभएको व्यक्तिले आवेदन दिन सक्नेछन् ।
न्युनतम ८ कक्षा उत्तीर्ण गरेको व्यक्तिले आवेदन दिन सक्नेछन् । कक्षा ९ र १० पास गरेकाले पनि अनिावर्य कक्षा ८ उत्तीर्णको शैक्षिक प्रमाणपत्र बुझाउनुपर्नेछ ।
पुरुष न्यूनतम ५ फिट ३ ईन्च उचाई, छाती नफुलाउँदा न्यूनतम ३२ ईन्च र फुलाउँदा न्यूनतम ३४ ईन्च तथा वजन न्यूनतम ५० केजी हुनुपर्नेछ । यस्तै महिला उचाई न्यूनतम ५ फिट र वजन न्यूनतम ४० केजी हुनुपर्ने सूचनामा उल्लेख गरिएको छ ।
उम्मेदवारहरु दरखास्त पेश गर्ने अन्तिम मिति २०८२ वैशाख २७ गतेसम्म रहेको छ । १८ वर्ष पूरा भई २२ वर्ष ननाघेको व्यक्तिले आवेदन दिन सक्नेछन् ।
यस्तै प्राविधिक, हवाई र विविध सेवातर्फ पदीक र बिल्लादार पदहरुमा नर्सिङ, पण्डित हुड्डा, मेडिकल, डेन्टलदेखि अमल्दारसम्म २७ पदमा ४०१ कर्मचारी माग गरेको छ ।



