CLI

झापामा गहुँ उत्पादनको क्षेत्रफल घट्दै, बढ्यो मकैमा किसानको आकर्षण

काठमाडौं । कचनकवल गाउँपालिकाको कार्यपालिका सदस्यसमेत रहेका स्थानीय किसान उमाशङ्कर गणेशले गहुँखेती लगाउन छाडेको १५ वर्ष भयो । तत्कालीन समयमा सिँचाइको असुविधा, उत्पादन थोरै र मुख्य रूपमा जङ्गली हात्तीले गहुँबाली नोक्सान गरिदिने भएकाले गहुँबालीको विकल्पमा मकैखेती गर्न थालेको उनी बताउँछन् ।

‘जङ्गली हात्तीले गहुँबाली घाँसका रूपमा खाइदिने भएकाले जोगाउनै मुस्किल पथ्र्यो’ ती दिनको सम्झना गर्दै स्थानीय किसान गणेशले भने ‘मकैखेती गर्न थालेदेखि गहुँबालीको तुलनामा उत्पादन पनि धेरै हुनुका साथै जङ्गली हात्तीले समेत कमै मात्रामा नोक्सान पुर्याउने गरेको छ ।’

सिँचाइको सुविधा हुने र प्रशस्त मात्रामा गोबर मल प्रयोग गर्न सक्यो भने एक बिघा क्षेत्रफलमा एक मेट्रिक टनसम्म मकै उत्पादन हुने गरेको उनले जानकारी दिए । यो वर्षदेखि कृषि ज्ञान केन्द्र झापाको सहयोगमा शून्य खनजोत कार्यक्रमअन्तर्गत मकैखेती गर्न थालेपछि लागत घटेको उनको भनाइ छ ।

अर्जुनधारा नगरपालिका–४ भाङवारी किसान प्रेम आचार्यले गहुँखेती नलगाएको १० वर्ष भयो । हिउँदे खेतीमा गहुँ पाक्ने समयमा दुईवटा खेती गर्न सकिने भएकाले तोरी तथा मकैखेती लगाउन सुरु गरेको उनी बताउँछन् । एउटै याममा दुई खेती गर्न सकिने र राम्रो आम्दानी पनि हुने भएकाले गहुँखेती गर्न छाडेको उनका भनाइ थियो ।

झापामा पछिल्ला वर्ष गहुँ उत्पादन हुने जमिनको क्षेत्रफल घट्दै गएको छ । यहाँका किसानले गहुँको विकल्पमा अन्य हिउँदे बाली रोजेपछि गहुँको उत्पादन र क्षेत्रफल घट्दै गएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी चेतराज भण्डारीले बताए ।

उनका अनुसार आव २०७९/८० मा चार हजार पाँच सय हेक्टर जमिनमा गहुँखेती लगाइएकामा आव २०८०/८१ मा तीन हजार हेक्टर पुगेको छ ।

ज्ञान केन्द्रको तथ्याङ्कानुसार मकैखेती लगाएको क्षेत्रफल आव २०८०/८१ मा ४४ हजार ३५० हेक्टर पुगेको छ । गहुँखेतीभन्दा मकै लगायत अन्य खेतीमा फाइदा हुने भएपछि गहुँखेतीप्रति किसानमा विकर्षण देखिएको सूचना अधिकारी भण्डारीले बताए ।

Leave Your Comment

Related News