काठमाडौं । भारतले पाकिस्तानसँगको १९६० को सिन्धु जल सन्धि तत्काल खारेज गर्ने निर्णय गरेको छ ।
जम्मू कश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा नयाँ दिल्लीमा बसेको सुरक्षा सम्बन्धी मन्त्रिपरिषद् समिति (सीसीएस) को बैठकले उक्त निर्णय गरेको हो ।
विदेश सचिव विक्रम मिश्रीले सीसीएस बैठकमा भएका निर्णयहरूको बारेमा जानकारी दिँदै सिन्धु जल सन्धि खारेजीसम्बन्धी निर्णय पाकिस्तानले सीमापार आतंकवादलाई विश्वसनीय रूपमा समर्थन गर्न बन्द नगरेसम्म लागू रहने बताए ।
मंगलबार जम्मू कश्मीरको पहलगाममा आतंकवादी हमला भएको थियो । उक्त आक्रमणमा २६ जनाको मृत्यु भएकोमा कम्तिमा १७ जना घाइते भएका थिए ।
उक्त घटनापछि प्रधानमन्त्री निवासमा भएको बैठकमा केन्द्रीय गृहमन्त्री अमित शाह, विदेशमन्त्री एस जयशंकर, रक्षामन्त्री राजनाथ सिंह र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल लगायत धेरै शीर्ष अधिकारीहरू उपस्थित थिए।
सका साथै अटारी सीमा पनि बन्द गर्ने निर्णय गरिएको छ। अटारी एकीकृत जाँच चौकीलाई तत्काल प्रभावले बन्द गर्ने निर्णय पनि गरेको छ। वैध कागजातको आधारमा यहाँ आएकाहरू मे १, २०२५ भन्दा पहिले यो बाटो भएर फर्कन सक्छन्।
यस्तै पाकिस्तानीहरूको लागि भिसा तत्काल लागू हुने गरी प्रतिबन्ध लगाउँदै उनीहरूलाई ४८ घण्टाभित्र देश छोड्न निर्देशन दिइएको छ। अर्को निर्णय नभएसम्म कुनै पनि पाकिस्तानी नागरिकलाई भारतीय भिसा नदिने निर्णय बैठकले गरेको छ ।
यसका साथै भारतमा रहेको पाकिस्तानी दूतावास पनि बन्द गर्ने र पाकिस्तानमा रहेको भारतीय दूतावास पनि बन्द गरेर दूत र कूटनीतिज्ञहरु फिर्ता ल्याउने निर्णय भएको छ । पाकिस्तानी कूटनीतिज्ञहरूलाई ७ दिनभित्र देश छोड्न निर्देशन दिइएको छ ।

