प्रधानमन्त्रीको बेडमा बिचौलिया पुगेको प्रमाणित गर्न गगनलाई ओलीको चुनौती

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफ्नो बेडरुमसम्म बिचौलियाको पहुँच भएको प्रमाणित गर्न चुनौती दिएका छन् । मदन भण्डारी फाउन्डेसनले आइतबार आयोजना गरेको कार्यक्रममा उनले त्यस्तो चुनौती दिएका हुन् । सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै केही दिनअघि कांग्रेस महामन्त्री गगन थापाले प्रधानमन्त्रीको बेडरुमसम्म बिचौलियाको पहुँच रहेको र उनीहरूले नै सरकार चलाउने गरेको अभिव्यक्ति दिएका थिए । उनको त्यही अभिव्यक्तिलाई लक्षित गर्दै ओलीले धतांगिँदै बोलेको भन्दै प्रमाणित गर्न चुनौती दिएका हुन् ।

राष्ट्र बैंकको गभर्नरको नियुक्तिको प्रसंग जोड्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बिचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म हुने गरेको बताएका थिए । ‘पहिला–पहिला राष्ट्र बैंकको गभर्नरबारे छलफल हुँदै गर्दा गभर्नर यो बन्ला कि त्यो बन्ला कि, गभर्नर यसले बनाउला कि त्यसले बनाउला कि रु भन्ने कुरा हुन्थ्यो । अब अहिले बिचौलियाको क्यान्डिडेट भनेर खुलमखुला बहस हुने, छलफल हुने अवस्था बन्ला कि भनेको हामी कहाँनेर पुग्यौँ ?’ थापाले प्रश्न गरेका थिए ।

‘कोही व्यक्ति यसरी धतंगाएर बोल्छन् प्रधानमन्त्रीको बेडरुमसम्मै बिचौलियाको पहुँच पुगेको छ भनेर । त्यस्तो कुरा सुनेर दया लाग्छ, के बोलेको त्यो । के त्यस्ता कुरा प्रमाणित गर्न सक्छन् ?’ प्रधानमन्त्रीले चुनौती दिँदै भने । साथै प्रधानमन्त्री ओलीले सरकार ढल्यो भनेर अफवाह फैलाएको बताए । ‘ अफवाहबाट हौसिएका नाम मात्रका कम्युनिस्ट भनिनेहरूले सरकार बिहानै ढल्यो, दिउँसै ढल्यो भनेर सरकारविरुद्ध अफवाह फैलाएका छन्,’ उनले भने ,‘ अफवाहलाई हतियार बनाएर, उद्धरण गरेर विभिन्न प्रतिगामी शक्तिहरू उफ्रिएका छन् ।’

‘ पहिले विष्णुबहादुर मानन्धरहरूको समूहले केशरजंग समूहलाई नावाकाद भन्थ्यो । नामका वामपन्थी, कामका दक्षिणपन्थी । नावाकादाहरू अहिले पनि छन् । एकथरीहरू कम्युनिस्ट आन्दोलन ध्वस्त बनाउन हाम्राविरुद्ध विभिन्न लाञ्छना लगाउने, अर्को सरकार अहिले ढल्यो, भरे ढल्यो, ढल्यो !!! ढल्यो भोलि बिहानै ढल्यो भन्दै गीत गाउने,’ उनले भने ।

सरकार ढल्यो भन्दै प्रमुख विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले अफवाह फैलाइरहेको संकेत गर्दै उनले थाइल्यान्डबाट कांग्रेस सभापति शेरबहादुर देउवा फर्किनेबित्तिकै त्यस्ता अफवाह फैलाउनेहरू आश्चर्यमा परेका बताए ।

प्रधानमन्त्री ओलीले अघिल्लो सरकारका अर्थमन्त्री वर्षमान पुनले अर्थतन्त्र बिगारेको बताए । ‘अघिल्लो सरकारले भताभुंग पारेको अर्थतन्त्र सम्हाल्दै छौँ । आउनुपर्ने ठाउँ कहीँ बाँकी नराखेको, ढुकुटीमा पैसा थोपो नराखेको । तिर्नुपर्ने मात्र बनाएको । ऋणैऋणमा फसाइदिएको अर्थतन्त्र सम्हालेर अगाडि बढाउँदै छौँ,’ ओलीले भने, ‘त्यहाँ पुर्‍याउन लाज छैन फेरि, अस्तिको दिन मात्र संसद्मा बोलेको सुन्दा अचम्म लाग्यो । लाज लाग्नुपर्ने, कस्तो सरम नलागेको ? यस्तो पार्ने बजेट प्रस्तुत गर्ने मान्छे, देश बर्बाद पार्ने मान्छेलाई अप्ठ्यारो लागेको छैन उसलाई । उही पण्डित, उही जान्ने ’

उनले वर्तमान सरकारले बिस्तारै लय समातेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार