काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले रोजगारी वृद्धि गर्नेगरी सरकारको नीति तथा कार्यक्रम र नयाँ बजेट ल्याउन सुझाव दिएका छन्।
बिहीबार ललितपुरमा नेपाल ट्रेड युनियन कांग्रेसले १ सय ३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले श्रमीकहरुलाई पूर्ण अधिकार सम्पन्न बनाउँदै स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिए।
‘नेपालको संविधानले रोजगारी र श्रमिकको हक र उचित पारिश्रमीक एवं योगदानमा आधारित सामाजिक सुरक्षाको हक सुनिश्चित गरेको छ,’ देउवाले भने, ‘यसअनुसार श्रम ऐन, ट्रेड युनियन ऐन लगायतका कानुन नेपाली कांग्रेसको सरकार रहेकै बेलामा आएका हुन्। म प्रधानमन्त्री भएको समयमा योगदानमा आधारित सामाजिक सुरक्षा ऐन पारित भएको पनि हो।’
उनले थपे, ‘सामाजिक सुरक्षाले श्रमिकहरुको आफ्नो सम्मान गर्दै भविष्यको पनि सुनिश्चितता गर्दछ। स्थानीय तहमा श्रम डेस्क राख्ने र सामाजिक सुरक्षाको दायरामा ल्याउन सरकारबाट पहल गर्न आवश्यक छ। स्वदेशमै रोजगारी सिर्जना गरी युवा शक्ति स्वदेशमी रहने र आफ्नै देशमा ज्ञान, सीप, वृद्धिको विकास र लगानी गर्ने वातावरण गराएर समृद्ध नेपालको हाम्रो सपना पूरा गर्नुछ। त्यसैले पनि श्रमिकहरुलाई पूर्ण अधिकार सम्पन्न बनाएर रोजगारमा वृद्धि गर्नेगरी सरकारको नीति तथा कार्यक्रम र नयाँ बजेट ल्याउनुपर्छ भन्ने मेरो मान्यता रहेको छ।’
सभापति देउवाले लोकतन्त्रमा सबै श्रमिकको अधिकार सुरक्षित हुने जिकिर गरे। नेपाली कांग्रेस श्रमिक अधिकार दिने पक्षमा सदैव अग्रस्थानमा रहेको उनको भनाइ छ।

