काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रम, रोजगारीका सबै अवसर आम नागरिकसम्म पुग्नुपर्ने बताएका छन्।
एक सय ३६ औँ अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा आज यहाँ आयोजित शुभकामना तथा ‘श्रमसंसार पोर्टल’को शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री ओलीले वैदेशिक रोजगारीमा देखा परेका चुनौती नियन्त्रण गर्नुपर्ने बताए।
‘श्रम बजारको विकास गर्न तालिम होस् वा उद्यमशीलता विकास वा सहुलियतपूर्ण कर्जा, सरकारले उपलब्ध गराउने सबै श्रम तथा रोजगारीका सेवालाई जनताका घरदैलोमा पुर्याउन श्रम, रोजगार तथा सामाजिक सुरक्षाका सम्पूूर्ण सेवालाई सबै नेपालीको पहुँचमा पार्न श्रमसंसार पोर्टललाई निकट भविष्यमा नागरिक एपमा आबद्ध गर्नुपर्छ,’ प्रधानमन्त्री ओलीले भने।
उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य प्राप्तिमा सूचना प्रविधिको प्रयोग अत्यावश्यक भएकाले ज्ञानमा आधारित समाज र डिजिटल अर्थतन्त्रको निर्माण, प्रविधिको उच्च प्रयोग गरेर विकास र समृद्धिका लक्ष्यहरू प्राप्त गर्न र सबै नेपालीलाई सरल र सहज तवरले सेवा प्रवाह गर्न सूचना प्रविधिको अहम् भूमिका रहने बताए ।
सरकारले श्रम बजार सूचना प्रणाली निर्माण र सूचनामा आधारित नीति तथा कार्यक्रम तर्जुमा गर्ने गरी काम अघि बढिसकेको जनाए ।
श्रम संसार प्रणाली श्रम तथा रोजगार सेवाको विनिमय प्रणाली हो । जसबाट श्रम तथा रोजगार सम्बद्ध विषयहरूको माग तथा आपूर्ति विश्लेषण, रोजगारीमा आबद्धता, रोजगारदाता संस्थाहरूको नियमन, रोजगार सेवाको समतामूलक पहुँच, योग्यता विस्तार मार्फत सङ्घीयताको लाभहरू जनस्तरसम्म पुर्याउन सहयोगी हुनेछ ।
श्रमिक, रोजगारदाता र रोजगार सेवा बिचको दुरी हटाइ फेसलेस, प्रोसेसलेस र म्यानुपुलेसनलेस बनाउँदै नागरिकको सीप क्षमता तथा योग्यताको विकास मार्फत श्रम समाजको सम्पूर्ण वर्ग र समाजलाई यसले नियमन गर्दै राष्ट्रलाई सम्बृद्धितर्फ लैजान सहयोग गर्नेछ ।
सरकारले आगामी दशकलाई आन्तरिक प्रवर्द्धन दशक बनाउन रणनैतिक कार्ययोजना निर्माण गरिरहेकाले मुलुकको समृद्धिको यस यात्रामा सहभागी प्रधानमन्त्री ओलीले आह्वान गरे ।

