भारत र पाकिस्ताबीचको तनावप्रति नेपाल सचेत रहनुपर्नेमा सांसदहरूको जोड

काठमाडौं । प्रतिनिधि सभामा भारत-पाकिस्तान युद्धको प्रभावबारे गम्भीर बन्न सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । खुला सीमाका कारण नेपालमा समेत चुनौती देखापर्न सक्ने भन्दै सांसदहरूले सचेत रहन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

बुधबार प्रतिनिधि सभाको बैठकमा पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका एनपी साउदले पहलगाममा नेपाली नागरिक आतङ्कवादको शिकार भएको र छिमेकमा युद्धको आगो सल्किरहेको समयमा सरकारले कूटनीतिक जिम्मेवार बोध गर्नुपर्ने उल्लेख गरे । उनले पाकिस्तानी उच्चस्तरीय सैनिक प्रतिनिधिमण्डलको नेपाल भ्रमण उपयुक्त नरहेको बताए ।

‘भ्रमण पूर्वनिर्धारित नै भए पनि वर्तमान स्थितिबारे संवेदनशील भएर कूटनीतिक कौशलताका साथ तत्कालका लागि भ्रमण स्थगन गर्दै उपयुक्त समयको प्रतिक्षा गर्नुपर्ने आवश्यकता थियो’, उनले भने ।

नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले भूराजनीतिक संवेदनशीलता र खुला सिमानाका कारण भारत र पाकिस्तानबीच युद्ध सुरु भएको भन्दै यसले नेपाललाई पार्ने अल्पकालीन र दीर्घकालीन प्रभावहरूका बारेमा नेपाल सरकारले समयमै सचेत भएर छलफल अघि बढाउन अनुरोध गरे ।

उनले दक्षिणपूर्वी एसियाली मुलुकमा द्वन्द्व चर्किएको र यतिबेला राष्ट्रिय राजनीतिक दलको एकता जरुरी भएको औँल्याए । संविधान संशोधन, सङ्घीयताको सवलीकरण, संस्कृतिको संरक्षण र प्रवर्द्धनलगायत विषयमा सबै दलहरूबीच न्यूनतम सहमति गरी आमजनतालाई आशा जगाउनुपर्नेमा उनले जोड दिए ।

नेपाल सरकारले समयकै भारत-पाकिस्तान युद्धले नेपाललाई पार्ने प्रभावबारे छलफल अघि बढाउनुपर्ने उनको भनाइ छ । यस्तै, सांसद सर्वेन्द्रनाथ शुक्लले पहलगाम घटनाको भर्त्सना गर्दै आतङ्कवादविरूद्ध प्रष्ट धारणा सार्वजनिक गर्न र संवेदनशील बन्न माग गरेका छन् । खुला सीमाका कारण नेपाललाई चुनौती हुनसक्ने भन्दै यसप्रति सचेत रहन उनले आग्रह गरेका छन् ।

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सरकारले सीमानामा मिहीन निगरानी बढाउन सरकारको ध्यानाकर्षण गराएका छन् । यस्तै, कूटनीतिलाई चुस्त बनाउन उनले ध्यानाकर्षण गराए । ‘सरकारलाई अलिकति पनि अन्तर्राष्ट्रिय सम्बन्धको ज्ञान छैन । मनोविज्ञान पढेको मान्छे परराष्ट्रमन्त्री हो । त्यसकारण परराष्ट्रमन्त्रीलाई कूटनीति के हो भन्ने थाहा छैन,’ उनले भने ।

२२ अप्रिलमा पहलगाममा भएको आतङ्कवादी आक्रमणमा भारतले जवाफी प्रतिकार सुरु गरेको छ । पाकिस्तानविरूद्ध उसले ‘अपरेसन सिन्दुर’मार्फत क्षेप्यास्त्र प्रहार गर्दा २६ जनाले ज्यान गुमाएका छन् भने ४६ जनाभन्दा बढी घाइते भएका छन् । पाकिस्तानले पनि भारतलाई जवाफ दिने बताइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार