काठमाडौं । ट्रेड टावर लिमिटेडले निष्कासन गरेकाे पहिलो चरणको आईपीओ बाँडफाँड सम्पन्न भएकाे छ ।
ट्रेड टावर लिमिटेडको धिताेपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले आइतबार श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन गरेको आईपीओ शेयर बाँडफाँड गरेको हो ।
बिक्री प्रबन्धकका अनुसार माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको हाे । जसमा ३९ हजार ७१६ जनाले शेयर पाएका छन् । https://iporesult.cdsc.com.np/ मार्फत आईपीओको नतिजा हेर्न सकिन्छ ।
कम्पनीले वैशाख ८ गतदेखि वैशाख २२ गतेसम्म श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ३ लाख ९७ हजार १६९ दशमलव ३० कित्ता शेयर बिक्री खुला गरेको थियो । पहिलाे चरणकाे शेयर बाँडफाँड सम्पन्न भएपछि अब कम्पनीले आम सर्वसाधारणलाई शेयर निष्काशन गर्ने छ।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई चैत्र २५ गते शेयर निष्काशनको अनुमति प्रदान गरेको थियो । कम्पनीले कुल ३९ करोड ७१ लाख ६९ हजार ३ सय रुपैयाँ बराबरको ३९ लाख ७१ हजार ६९३ कित्ता शेयर निष्काशन गर्ने छ । कम्पनीले जारी पुँजीको ४८.६९६ प्रतिशत शेयर आईपीओको रुपमा निष्काशन गर्न लागेको हो। शेयर निष्काशनको लागि लक्ष्मी सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
यस कम्पनीले थापाथलीमा ट्रेड टावर निर्माण सम्पन्न गरि संचालन गरिरहेको छ। त्यस्तै भैसिपाटीमा जनता रेसिडेन्सी नामको अपार्टमेन्ट र गौशालामा होटेल क्रिस्टल पशुपति निर्माण सम्पन्न गरि सञ्चालन गरिरहेको छ । यस कम्पनीका अध्यक्ष शिवहरि दंगाल हुन् । कम्पनीमा उनको सबैभन्दा धेरै शेयर स्वामित्व रहेको छ ।

