काठमाडौं । हिमालयन डिस्टिलरी लिमिटेडको खुद नाफा २५१.३३ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्ष (आव) को तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीले ७३ करोड ९२ लाख खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा २१ करोड ४ लाख रहेको थियो ।
तेस्रो त्रैमासको अवधिमा कम्पनीले उत्पादन बिक्रीबाट ४ अर्ब ३० करोड ७३ लाख आम्दानी गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीको उत्पादन बिक्रीको आम्दानी २ अर्ब ७४ करोड रहेको थियो ।
हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ७ करोड रहेको छ भने रिजर्भमा ८८ करोड ७६ लाख रहेको छ । यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ३२ रुपैयाँ ८ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ १२८ रुपैयाँ ८९ पैसा रहेको छ।
कम्पनीका अनुसार कम्पनीको माल्ट डिष्टिलेसन युनिटबाट माल्ट स्प्रिंट उत्पादन दोस्रो त्रैमासिक अवधि देखि नै शुरु भएको छ । हाल सम्म यस युनिटवाट हालसम्म २० हजार ९१२ लिटर उत्पादन भई सकेको र उत्पादन भएको मध्ये १२ हजार लिटर माल्ट स्प्रिंट अन्य उद्योगहरुलाई बिक्री गरिएको छ ।
कम्पनीले गोल्डेन ओक, सिल्भर ओक, हिमालयन ऐला, ब्लु ओक, ब्ल्याक ओकलगायत मदिरा उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ ।
कम्पनीले भनेको छ ‘कम्पनीको नयाँ परियोजनाको रुपमा जेरो लिक्वीड डिस्चार्ज कार्य समाप्त भएको छ । यसै त्रैमासिक अवधिमा उक्त परियोजनावाट उद्योगले वाइ प्रडक्टको रुपमा उत्पादन गरी रहेको ‘स्लज’ लाई जनावर तथा पशुपंक्षी, माछा आदिको दानामा परिणत गरी उत्पादन सुरु गरिएको छ । यसबाट उद्योगको वातावरणीय सूचकमा सुधार हुने र उत्पादित दाना बिक्रीबाट आम्दानी बढ्ने विश्वास लिइएको छ। स्प्रिट उत्पादनको लागि प्लान्ट अटोमेसन को कार्य समाप्त भई गुणस्तरीय इएनए स्प्रिटको उत्पादन शुरु गरिएको छ । यसबाट स्प्रिटको उत्पादन लागत कम हुने र उत्पादित इएनएको गुणस्तर र गुणस्तरमा पनि एकरुपता रहन्छ भन्ने कम्पनी विश्वस्त छ ।’
कम्पनीको उत्पादन गोल्डेन ओकले बजारमा उच्च प्रतिस्पर्धाको सामना गर्दै आएको भएता पनि उपभोक्ताको रोजाईले निरन्तरता पाएको महशुस गरिएको कम्पनीले जनाएको छ । कम्पनीको अर्को उत्पादन ब्लाक ओक नि उपभोक्ताको रोजाईमा परेको र यस ब्राण्डको बिकी गत वर्षको यसै अवधिको भन्दा ७३ प्रतिशतले वृद्धि भएको कम्पनीले उल्लेख गरेको छ ।
कम्पनीले भनेको छ ‘ कम्पनीले पछिल्लो समयमा ह्वाइट सेग्मेन्टमा ल्याइएको सिल्भर ओक ब्राण्ड प्रति पनि उपभोक्ताको सकारात्मक प्रतिकृया देखा परेको छ । जसको कारण गत वर्षको यसै अवधिको भन्दा बिकी परिमाण बढ्न गएको छ । गत वर्षको यसै अवधिको बिक्री आम्दानी र यस वर्षको बिक्री आम्दानीलाई समग्र रुपमा हेर्दा कम्पनीले २५१ प्रतिशतले बढि नाफा आर्जन गर्न सफल भएको छ ।’
शेयर मूल्यमा गिरावट
बैशाख २८ गते आइतबार बजार बन्द हुँदा कम्पनीको मूल्य प्रतिकित्ता १ हजार १९२ रुपैयाँमा झरेको छ । एक वर्ष बीचमा कम्पनीको मूल्य अधिकतम १७४९ रूपैयाँसम्म पुगेको छ भने न्यूनतम ११३६ रूपैयाँसम्म झरेको रेकर्ड छ । विसं २०७९ पुस २१ मा कम्पनीको मूल्य २ हजार ७०० रूपैयाँ नाघेको थियो । त्यसयता कम्पनीको मूल्य पनि ‘बियरिस ट्रेन्ड’ मा देखिन्छ ।
समग्र उत्पादन तथा प्रशोधन समूह बढ्दो प्रवृत्तिमा रहँदा पनि हिमालयन डिस्टिलरी भने निरन्तर घटिरहेको छ । उत्पादन तथा प्रशोधन समूहको सूचक २०७९ पुस २१ मा ५६ सय अंक रहेकोमा अहिले ७१ सय ८४ अंकमा छ । समग्र समूहको सूचक बढ्दा पनि कम्पनीको मूल्यमा उच्च गिरावट देखिनुमा यस बीचमा घट्दो बिक्री आम्दानी र यसअघि वितरण गरेको बोनस लाभांश नै प्रमुख कारण हुन् ।

