काठमाडौं । काठमाडौँको न्युरोड-हनुमानढोका क्षेत्रको मखनगल्लीमा भिषण आगलागी भएको छ । चार र पाँच तले कच्ची घरमा आगलागीले क्षति पुगेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँकाअनुसार काठमाडौँ महानगरपालिका २४ मखन गल्लीस्थित दयाराम श्रेष्ठको चारतले माटो र काठले बनेको कच्ची घरबाट आगलागी सुरु भएको हो । उक्त आगलागी नजिकैको अर्को पक्की घरमा पनि फैलिएको छ ।
उक्त स्थानमा जलेको अवस्थामा एक जनाको शव फेला परेको छ भने उक्त शवको सनाखत भने हुन बाँकी छ ।
आगलागी नियन्त्रणका लागि प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको टोली खटिएको छ । ६ वटा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भैरहेको प्रहरी वृत्त जनसेवाले बताएको छ ।

