काठमाडौं । यो साता चार कारोबार दिन मध्ये शतप्रतिशत दिन शेयर बजार घट्दा लगानीकर्ताले आफनो आम्दानी तथा सम्पत्ति गुमाएका छन् । सोमबार बिदाको दिन बन्द हुन पुगेको शेयर बजार बाँकी दिन खुला भए पनि कुनै दिन पनि शेयर बजार बढ्न सकेन ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले उपलब्ध गराएका तथ्यांक अनुरुप गत साताको तुलनामा यो साता कारोबार रकम १२ अर्ब १३ करोड ८४ लाखले घटेको छ । गत साता ४७ अर्ब ७९ करोड ५८ लाख कारोबार रकम हुँदा यो साता ३५ अर्ब ६५ करोड ७४ लाख कारोबार रकम पुगेको छ ।
कारोबार रकम घट्दा बजार पुँजीकरण रकम पनि घटेको छ । गत साताको तुलनामा यो साता बजार पुँजीकरण रकम ८२ अर्ब ८३ करोड १४ लाखले घटेको हो । गत साता ४४ खर्ब २७ अर्ब ५३ करोड पुगेको बजार पुँजीकरण रकम यो साता ४३ खर्ब ४४ अर्ब ७० करोड पुगेको हो ।
साथै कारोबार कित्ता शेयरको संख्या समेत घटेको छ । गत साताको तुलनामा यो साता कारोबार कित्ता शेयर ३ करोड ७१ लाख ७१ हजारले कम हो । गत साता ११ करोड ८९ लाख ३० हजार शेयर कित्ता खरिद बिक्री हुँदा यो साता ८ करोड १७ लाख ५९ हजार कित्ता शेयर खरिद बिक्री भएको हो ।
नेप्सेले उपलब्ध गराएको तथ्यांक अनुरुप नेप्से परिसूचक पनि २६०० माथि रहेको छ । यो साता नेप्से परिसूचक २६११.८५ विन्दुमा पुगेर बन्द भएको छ । जुन गत साताको तुलनामा यो साता नेप्से परिसूचक ४९.७९ अंकले कम हो । गत साता नेप्से परिसूचक २६६१.६४ विन्दुमा पुगेर बन्द भएको थियो । यो साता सेन्सेटिभ इन्डेक्स पनि ४४०.० विन्दुमा पुगेर बन्द भएको छ । जुन गत साताको तुलनामा ८.८९ अंकले कम हो । गत साता सेन्सेटिभ इन्डेक्स ४४८.८९ विन्दुमा पुगेर बन्द भएको थियो ।

नेप्सका अनुसार समीक्षा अवधिमा समूहगत परिसूचकको हकमा भने २ वटा उप समुह बढ्दा बाँकी ११ वटा उपसमुह घटेको छ । गत साताको तुलनामा यो साता विकास बैंक् ५५ र होटल र पर्यटन ४६९ अंकले बढ्दा बैंकिङ २२, वित्त १५८, जलविद्युत ८४, लगानी ४,जीवन बीमा ३०, उत्पादन र प्रशोधन १०८, लघुवित्त ५९, म्युअुचल फण्ड ०.०९, निर्जीवन बीमा १९, व्यापार ९५ र अन्य समूह १९ अंकले घटेको हो ।


