झापा । मेचीनगर नगरपालिका-७ का ५१ वर्षीय प्रकाश थापाले खरबुजा खेतीबाट एक याममा रु पाँच लाख बढी आम्दानी गरेका छन् ।
उनले १७ कठ्ठा जमिन भाडामा लिएर खरबुजासहित विभिन्न तरकारीखेती गर्दै आएका छन् । थापाले अहिले खरबुजा प्रतिकिलो रु ४० मा बिक्री भइरहेको जानकारी दिए ।
वार्षिक रु ४० हजार तिरेर भाडामा लिइएको जमिनमा खेती गरेको भन्दै गत फागुनदेखि हालसम्ममा रु पाँच लाखको खरबुजा बिक्री भएको उनले बताए । “अन्य तरकारीखेती पनि गरेको छु”, उनले भने, “तर खरबुजाले जस्तो आम्दानी तरकारीबाट हुन सकेको छैन ।” झापामा गर्मी बढेसँगै खरबुजाको व्यापार बढेको छ । थापाले उत्पादन गरेका खरबुजा बिक्रीका लागि धुलाबारी, काँकरभिट्टा, चारआलीलगायत चोक तथा बजारमा लैजाने गर्छन् ।
उनले बजारको समस्या नभएको बताउँदै बारीमा आउने व्यापारीलाई भने प्रतिकिलो रु ३० का दरले बिक्री गर्दै आएको जानकारी दिए । मेचीनगर, भद्रपुर र कनकाई नगरपालिका क्षेत्रमा खरबुजाको व्यावसायिक खेती हुँदै आएको छ ।

