काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले गुठीको समस्या समाधानका लागि सरकारसँग माग गरेका छन्।
प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले सिन्धुपाल्चोकमा मात्र १ सय ४६ वटा नाममा दर्ता भएका गुठीहरु समस्यामा भएकाले तत्काल समस्या समाधानका लागि गुठी विद्येयक आवश्यक रहेको बताए ।
उनले गुठीबाट देशभरका लाखौं नागरिक प्रभावित भएको र ६८ वटा जिल्लामा फरक प्रकृतिको गुठीका समस्या रहेको बताए। ‘गुठीको पीडा भोग्नेलाई मात्र थाहा छ, यो पीडाबाट देशैभर लाखौं नागरिकहरु प्रभावित छन्,’ सापकोटाले भने, ‘त्यसमा सिन्धुपाल्चोकका मात्रै मेलम्चीको फटकशीला, लिसंखुको अत्तरपुर सिग्रे, बलेफीको फुल्पीङकोट, फुल्पिङडाँडा, मान्खा, त्रिपुरासुन्दरीको तौथली धुस्कुन, बाह्रबिसेको मानेश्वारा, जुगलको गुम्बा, सुनकोशीको पांग्रेटार, टेकानपुर, ठोकर्पा, कालिकालगायतका स्थानहरुमा गुठीसँग सम्बन्धित समस्या छन्। सिन्धुपाल्चोकमा मात्र १४६ वटा नाममा गुठीहरु दर्ता छन्। देशभर ६८ वटा जिल्लाहरुमा फरक प्रकृतिका गुठीका समस्याहरु छन्, यसको समाधानका लागि गुठी विद्येयक आवश्यक छ।’
उनले विधेयक नआएसम्म गुठी समस्या समाधान गर्न नसकिने बताए ।


