CLI

लेखा समितिमा ऋषिकेश र मोदीबीच ‘भनाभन’

काठमाडौं । संघीय संसदअन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा सभापति ऋषिकेश पोखरेल र सदस्य माओवादी सांसद अमनलाल मोदीबीच ‘भनाभन’ भएको छ। प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का सांसद अमनलाल मोदीले संसदीय समितिमा प्रतिपक्षलाई बोल्न रोकिएको भन्दै आफ्नो आपत्ति जनाएका छन्।

बिहीबार सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले समिति सभापतिसँग असन्तुष्टि व्यक्त गरे । उनले संसद सार्वभौम हुने र सार्वजनिक विषयमा कुरा राख्न पाउनुपर्ने बताए । आफूहरूलाई लागेको विषय समितिमा राख्दा रोक्न नमिल्ने भन्दै आफूहरू कसैको दास नभएको उनको भनाइ थियो । उनले सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्षको नै हुनुपर्ने कुरालाई दोहोर्‍याए । मोदीले विपक्षी दललाई प्रतिवन्ध लगाएको बताएपछि पोखरेलले युट्यूबर ल्याएर भ्यूजका लागि मात्र बोल्ने गरेको मोदीमाथि आरोप लगाए । सांसद मोदीले संसदीय समितिमा प्रतिपक्षीले सार्वजनिक सरोकारका विषय उठान गर्न खोज्दा सभापतिले रोक्नु दुर्भाग्य भएको बताए ।

‘संसद भनेको सार्वभौम हो । यो मिनि पार्लियामेन्ट हो। सार्वजनिक विषयका कुरा, हामीलाई लागेको विषय, त्यसमध्ये पनि हामी माओवादी प्रतिपक्षमा छौं । हामीले बोलेका विषयमा तपाईले रोक्नु हुन्छ। यो दुर्भाग्य हो । हामीलाई प्रतिबन्ध लगाउन पाउनु हुन्न’, उनले भने , ‘लेखा समिति प्रतिपक्षको हुनुपर्छ भनेर बोल्दा तपाईंहरू हुनु हुँदैन, हुँदैन भन्ने । तपाईंहरूको हामी दास हो र ? माओवादी पार्टीको कुरा हो नि यो ।’ उनले सार्वजनिक लेखा समिति सभापतिमाथि सत्तापक्ष रहँदासम्म प्रश्न उठिरहने समेत बताए ।

Leave Your Comment

Related News