CLI

गैरकानुनीतवरले वैदेशिक रोजगारीमा पठाए कारबाही गर्ने चेतावनी

काठमाडौं । वैदेशिक रोजगार विभागले कुनै पनि व्यक्ति वा संस्थाले गैरकानुनी तवरले वैदेशिक रोजगारीमा पठाउने र पठाउन सहजीकरण गर्ने कार्य नगर्न सुसूचित गरेको छ ।

विभागले आज सूचना जारी गर्दै कानुनविपरीत कुनै व्यक्ति वा संस्थाले वैदेशिक रोजगारमा पठाउन वा पठाउनका लागि प्रक्रिया अघि बढाउनेलाई कारबाही गर्ने चेतावनी दिएको हो ।

विभागले उजुरीका आधारमा टोली खटाई नियमित एवं आकस्मिक अनुगमन गरिने भएकाले उजुरीका लागि सर्वसाधारणलाई आग्रहसमेत गरेको छ । व्यक्ति, शैक्षिक परामर्श केन्द्र, ट्राभल एजेन्सी, तालिम प्रदायक संस्था, भाषा प्रशिक्षण गराउने संस्थाहरूले विदेश पठाइदिने भनी सूचना जारी गर्ने, राहदानी र अन्य कागजात संकलन गर्ने, नक्कली कागजात तयार गरी विदेश पठाउने कार्यमा संलग्न भएको जनगुनासो प्राप्त भएको विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले बताएका छन् ।

वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न वा कुनै पनि नेपाली कामदारलाई श्रमिकको रूपमा विदेश पठाउन वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम विभागमा दर्ता भएको संस्था हुनुपर्ने कानुनी प्रावधान छ ।

विभागले तालिम प्रदायक संस्थाहरूलाई वैदेशिक रोजगारमा जाने कामदारका लागि मापदण्ड पूरा गरी तालिम सञ्चालन गर्न सुसूचित गराएको छ ।

अभिमुखीकरण तालिम सञ्चालन गर्दा सबै प्रशिक्षार्थीलाई अनिवार्य उपस्थित र तालिमका लागि आवश्यक न्यूनतम भौतिक एवं अन्य स्रोतसाधनसम्बन्धी मापदण्ड पूरा नगर्ने संस्थालाई कारबाही गर्ने चेतावनी दिएको हो ।

मापदण्ड पूरा नगरी तालिम सञ्चालन भइरहँदा वैदेशिक रोजगारीमा जाने कामदारले पर्याप्त मात्रामा सुसूचित हुन नसकेको विभागले जनाएको छ । ‘सुरक्षित र मर्यादित रूपमा वैदेशिक रोजगारीको व्यवस्थापन नभएको भनी यस विभागमा जनगुनासो आइरहेको हुँदा त्यस्ता संस्थाहरूले वैदेशिक रोजगारमा जाने कामदारका लागि अभिमुखीकरण तालिम सञ्चालन गर्दा सबै मापदण्ड पूरा गर्नपर्नेछ,’ विभागद्वारा जारी सूचनामा उल्लेख छ ।

 

Leave Your Comment

Related News