काठमाडौं । मधेश प्रदेशका केही जिल्लामा सोमबार राति शंकास्पद उड्ने वस्तु (फ्लाइंग ऑब्जेक्ट) देखिएको घटनाले चासोको विषय बनेको छ। बारा, पर्सा, रौतहट, सर्लाही र धनुषा लगायतका जिल्लामा सयभन्दा बढी संख्यामा यस्ता वस्तु देखिएको स्थानीयवासीले जनाएका छन्।
घटनापछि गृह मन्त्रालयले यसको अनुसन्धान थालेको छ। मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले फ्लाइंग ऑब्जेक्ट के हो र कसरी नेपाली भूमिमा आयो भन्ने विषयमा जानकारी संकलन भइरहेको जानकारी दिए। उनले प्रारम्भिक अनुसन्धानपछि थप विवरण सार्वजनिक गरिने बताएका छन्।
सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको छ भने स्थानीय प्रशासनले पनि सम्भावित खतरा नहोस् भनेर निगरानी बढाएको छ। हालसम्म कुनै क्षति वा अप्रिय घटना नघटेको बताइएको छ।
फ्लाइंग ऑब्जेक्टबारे प्राविधिक विश्लेषण र सम्भावित स्रोतको पहिचानका लागि विज्ञहरूको सहयोग लिने तयारी भइरहेको स्रोतले जनाएको छ। यस घटनाले सीमा सुरक्षा र हवाई निगरानीप्रति पनि गम्भीर प्रश्न खडा गरेको छ।

