काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल आज प्रतिनिधि सभामा आर्थिक सर्वेक्षण पेस गर्ने कार्यतालिका तय भए पनि त्यसको सुनिश्चितता अझै हुन सकेको छैन। मंगलबार नै आर्थिक सर्वेक्षण पेस गरिने कार्यतालिका तय भए तापनि प्रतिपक्षी दलको अवरोधका कारण प्रक्रिया स्थगित भएको थियो।
आज बिहान ११ बजेका लागि बोलाइएको संसद बैठक तोकिएको समयमा सुरु हुन सकेको छैन। प्रतिपक्षी दलहरू गृहमन्त्री रमेश लेखकमाथि भिजिट भिषा प्रकरणमा रकम संकलन गरेको आरोप लगाउँदै उनको राजीनामाको मागसहित निरन्तर विरोधमा उत्रिएका छन्।
संसदमा अवरोधका बीच आजको बैठक कसरी अघि बढ्छ भन्ने अझै स्पष्ट भइसकेको छैन। प्रतिपक्षको अडान र सरकार पक्षबाट हालसम्म कुनै संवाद वा पहल नभएको अवस्थामा आज पनि मंगलबारकै शैलीमा अवरोध जारी रहने सम्भावना उच्च देखिएको छ।
आर्थिक सर्वेक्षण संसदमै पेस गर्नुपर्ने संवैधानिक व्यवस्था रहेकाले प्रतिवेदन सार्वजनिक गर्न संसदको बैठक सञ्चालन हुनु अनिवार्य छ। अर्थ मन्त्रालयले पनि संसदमा पेश नगरीकन सर्वेक्षण सार्वजनिक गर्न असहज हुने स्पष्ट पारेको छ।
संसदमा आजको बैठक कसरी अघि बढ्छ र आर्थिक सर्वेक्षण पेस हुने वा नहुने भन्ने विषयमा सबैको चासो केन्द्रित भएको छ। राजनीतिक गतिरोध अन्त्य नगरेसम्म आर्थिक प्रक्रिया अवरुद्ध रहन सक्ने संकेत देखिएको छ।

