काठमाडौं । सरकारले सुर्तिजन्य तथा चुरोटजन्य पदार्थहरूमा अन्तः शुल्क, भन्सार महसुल तथा स्वास्थ्य जोखिम शुल्क बढाउने निर्णय गरेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को आर्थिक विधेक मार्फत सुर्तिजन्य तथा चुरोटजन्य पदार्थहरूमा अन्तः शुल्क, भन्सार महसुल तथा स्वास्थ्य जोखिम शुल्क बढाउने निर्णय गरेका हुन् । यसबाट चुरोट, सिगारलगायतका सुर्तिजन्य पदार्थहरूको मूल्यमा प्रत्यक्ष वृद्धि हुने देखिएको छ।
अन्तः शुल्कतर्फ सरकारले सिगारमा प्रति खिल्ली ३१ रुपैयाँ कायम राख्दै हालको दरलाई यथावत राखेको छ। तर भन्सार महसुल शुल्कतर्फ भने सिगारमा प्रति हजार खिल्ली ११ हजार रुपैयाँ तोकेको छ, जुन चालु आर्थिक वर्षको ९ हजार रुपैयाँभन्दा २ हजारले बढी हो।
फिल्टर नभएको चुरोटमा अन्तः शुल्क प्रतिमिटर ७५५ रुपैयाँबाट बढाएर ७७८ रुपैयाँ पुर्याइएको छ। त्यस्तै, फिल्टर भएको चुरोटतर्फ ७० मिलिमिटरको अन्तः शुल्क १,७४० बाट १,७९२ रुपैयाँ, ७०–७५ मिलिमिटरको २,३७० बाट २,४४१ रुपैयाँ, ७५–८५ मिलिमिटरको ३,०६० बाट ३,२१३ रुपैयाँ, ८५ मिलिमिटरभन्दा लामो चुरोटको शुल्क ४,२०० बाट बढाएर ४,४१० रुपैयाँ गरिएको छ।
फिल्टर नभएको चुरोट प्रति हजार खिल्ली ४ हजार ५ सय रुपैयाँ, फिल्टर भएको ७०–८५ मिलिमिटरसम्मको चुरोट प्रति हजार खिल्ली ५ हजार ५ सय रुपैयाँ, ८५ मिलिमिटरभन्दा माथिको चुरोट प्रति हजार खिल्ली ५ हजार ५ सय रुपैयाँ।
सरकारले खैनी, जर्दा तथा गुटखा जस्ता चपाउने सुर्तिजन्य पदार्थहरूमा भने यसपटक कुनै कर वृद्धि नगरी अन्तः शुल्क यथावत राखेको छ।
सरकारले पछिल्ला केही वर्षदेखि स्वास्थ्य प्रवर्द्धन गर्ने र सुर्तिजन्य पदार्थको उपभोगमा कमी ल्याउने उद्देश्यसहित प्रत्येक वर्ष कर वृद्धि गर्दै आइरहेको छ। कर वृद्धिसँगै बजारमा चुरोट तथा सिगारको मूल्य बढ्ने देखिएको छ।

