काठमाडौं । पछिल्लो महिनामा अड लट कारोबार घटेको छ । नेपाल स्टक एक्सचेञ्ज, नेप्सेका अनुसार पछिल्लो महिनामा अड लट कारोबार रकम र शेयर कित्ता खरीद बिक्री घटेको हो ।
नेप्सेले उपलब्ध गराएका तथ्यांक अनुरुप वैशाखमा ३५ करोड ४५ लाख बराबरको ८ लाख ९० हजार भन्दा बढी कित्ता धितोपत्र अडलटमा कारोबार भएको छ । जुन चैतको तुलनामा २४.१५ प्रतिशतले कम हो । चैतमा भने ४६ करोड ७३ लाख बराबरको १५ लाख ६४ हजारभन्दा बढी धितोपत्र अड लट कारोबार भएको थियो ।
नेपालको धितोपत्र बजारमा अड लट कारोबार सहज मानिदैन । प्राविधिक रुपमा कारोबार गर्न कठिन रहेको अवस्था देखिदाँ पनि कारोबारमा कमी आएको नेप्सेका अधिकारीहरु बताउँछन् । अड लट कारोबारका लागि तथ्याङक अर्थात् मार्केट डेप्थमा तथ्याङक सार्वजनिक नहुँदा कारोबार गर्न कठिनाई हुने नेप्सेका एक अधिकारीले बताए । तथ्याङक नहुँदा अन्दाजको भरमा माग राखी खरीद बिक्री गर्नु पर्ने अवस्था रहेको ती अधिकारीको भनाई रहेको छ । अधिकारीका अनुसार अड लट कारोबारको तथ्याङक नेप्से इन्डेक्ससँग नजोडिने अर्थात् वास्तविक कारोबारमा गणना नहुने भएकाले पनि मार्केट डेप्थ समेत नदेखाउने गरिएको पाइन्छ ।
१ देखि ९ कित्तासम्मको कारोबारलाई अड लट कारोबार भन्ने गरिन्छ । अहिले पनि अड लट कारोबार नहुने होइन, तर त्यस्तो कारोबार गर्न छुट दिएको छैन । छुट नदिएको अवस्थामा पनि किनबेच भइरहेको पाइन्छ । हाल १ देखि ९ कित्तासम्म सेयर किनबेच गर्नुपर्दा खरिद र बिक्रीकर्ता दुवै मिलेर उही संख्या र उही मूल्यमा आदेश हालेर म्याचिङ गराउनुपर्ने बाध्यता छ ।
नेप्सेले भने अड लट कारोबारलाई व्यवस्थित गर्न खोजेको छ । नेप्सेले छिट्टै नै मार्केट डेप्थमा देखिने गरी १ देखि ९ कित्तासम्मको सेयर अर्डर पोस्ट गर्न सकिने व्यवस्था गर्न लागेको हो । प्राविधिक टिमसँग यसबारे छलफल भइरहेको नेप्से प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए ।
‘अडलट मूल कारोबार होइन, यो कारोबारले नेप्सेको कुनै पनि सूचक र त्यो कम्पनीको मूल्यलाई पनि असर पार्दैन,’ उनले भने, ‘अब यस्तो सेयर पनि मार्केट डेप्थमा देखिने र कारोबारमा सहज गर्ने गरी तयारी गरेका छौं । प्राविधिक टिमले यसको काम सक्ने बित्तिकै लागु गरिने छ ।’


