राइड सेयरिङ तथा सेल्फ ड्राइभ अनुमति विरुद्ध यातायात व्यवसायीको आन्दोलन, गृहमन्त्रीसँग छलफल जारी

काठमाडौं । सरकारले राइड सेयरिङ सेवा र सेल्फ ड्राइभ सवारी सञ्चालनलाई कानुनी मान्यता दिने निर्णयको विरोधमा देशभरका यातायात व्यवसायी आज एकदिनका लागि सडकबाट ओझेलिएका छन्। ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को आह्वानमा व्यवसायीहरुले सार्वजनिक यातायात सेवा पूर्णरूपमा ठप्प पारेका छन्।

व्यवसायीको यस आन्दोलनका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा सार्वजनिक यातायात चल्न नसक्दा सर्वसाधारण यात्रुहरु मर्कामा परेका छन्। राजधानीका प्रमुख सडकहरु, जुन सामान्य दिनमा अत्यधिक भीडभाड रहने गर्दछन्, आज बिहानैदेखि सुनसान देखिएका छन्। बस स्टपमा यात्रुहरु लामो समयसम्म गाडीको प्रतीक्षा गरिरहेका देखिन्छन्। कतिपयलाई गन्तव्यसम्म पुग्न पैदलै हिँड्न बाध्य हुनु परेको छ भने केहीले राइड सेयरिङ सेवा पठाओ, इनड्राइभ लगायतका माध्यमको सहारा लिएका छन्।

यातायात व्यवसायीको आन्दोलनको असर काठमाडौं उपत्यकामा विशेषरुपमा परेको छ। उपत्यकाभित्र चल्ने सार्वजनिक बस, माइक्रोबस, टेम्पोलगायतका सवारी साधन ठप्प छन्। ट्याक्सीहरु भने फाट्टफुट्ट सञ्चालनमा देखिएका छन्। सडकमा भने निजी, कार र मोटरसाइलको उल्लेखनीय उपस्थिति छ ।

यसैबीच, गण्डकी प्रदेश सरकारले ल्याएको नियमावलीमार्फत राइड सेयरिङ र सेल्फ ड्राइभ सेवा सञ्चालनमा अनुमति दिने निर्णयविरुद्ध आन्दोलनरत व्यवसायी प्रतिनिधिहरू र गृहमन्त्री रमेश लेखकबीच गृहमन्त्रालयमा छलफल भइरहेको छ। दुबै पक्षबीच समस्या समाधानको प्रयासस्वरूप वार्ता जारी रहेको मन्त्रालय स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार