काठमाडौं । सरकार र यातायात व्यवसायीबिच सोमबार मध्यराति ७ बुँदे सहमति भएको छ । सोमबार राति सवा ११ बजेसम्म चलेको बैठकले सात बुँदे सहमति गर्दै संघीय सरकारले गण्डकी प्रदेशलाई राइड सेयरिङसम्बन्धी नियमावली स्थगन गर्न सिफारिस गर्नेसहितका ७ बुँदे सहमति भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताए ।
मन्त्रालयका सहसचिव कृष्णराज पन्तको नेतृत्वमा गठित वार्ता समितिले उक्त सिफारिस प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउने सहमति भएको छ । समितिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत गण्डकी प्रदेशलाई नियमावली तत्काल स्थगन गर्न औपचारिक अनुरोध गरिने जनाएको छ।
सहमति भएता पनि तत्काल बन्द भने फिर्ता नहुने यातायात व्यवसायीले बताएका छन् । संघीय सरकारले प्रदेश सरकारलाई अनुरोध गरेपछि मात्रै यातायात व्यवसायीको आन्दोलन रोकिने वरिष्ठ उपाध्यक्ष सिटौलाले बताए ।
‘राइड सेयरिङसम्बन्धी नियमावली स्थगन गर्न सिफारिस गर्ने सहमति भएको छ, तर प्रदेश सरकारले स्थगनको औपचारिक निर्णय नगरेसम्म हामी आन्दोलन फिर्ता लिँदैनौं,’ उनले भने ।

