काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) बाट दोस्रो बजार कारोबार अन्तर्गत ओटिसी बजारमा करिब पौने २ अर्बबराबरको धितोपत्र कारोबार भएको छ । नेप्सेका अनुसार चालु आर्थिक वर्षको फागुनसम्म ओटिसी बजारमा १ अर्ब ७९ करोड बराबर धितोपत्र कारोबार भएको हो । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा चालु आवमा ३२.९५ प्रतिशतले धितोपत्र कारोबार कम हो । गत आर्थिक वर्षको फागुनसम्म यस्तो काराबोर २ अर्ब ६७ करोड रहेको थियो ।
नेप्सेले दोस्रो बजार कारोबार अन्तर्गत नेप्सेमा सूचीकृत नभएका पब्लिक कम्पनीको धितोपत्रको खरीद बिक्रीका लागि ओटिसी बजार सञ्चालन गर्दै आएको छ । सरकारले नेप्सेमा सूचीकृत नभएका पब्लिक कम्पनीको धितोपत्रको खरीद बिक्रीका लागि ओटिसी बजार सञ्चालन विनियमावली, २०६५ को व्यवस्था अनुरुप ओटिसी बजार सञ्चालन गर्न अनुमति दिएको हो । सोहि व्यवस्थामा रही सूचीकृत नभएका पब्लिक कम्पनीको धितापत्रको खरीद बिक्रीको व्यवस्थापन गरिर्दै आएको छ ।
पछिल्लो समय ओटिसी बजारमा धितोपत्र खरीद बिक्री गर्नेको संख्या अर्थात् कारोबारीको संख्या घट्दै गएको नेप्सेका अधिकारीहरु बताउँछन् । उनीहरुका अनुसार नेप्सेमा सूचीकृत कम्पनीहरु प्रशस्त रहेको र कारोबार रकम समेत बढ्दै गएको अवस्थाका कारण ओटिसी बजार प्रभावित बन्न पुगेको हो ।

