काठमाडौं । बजेट सार्वजनिक भए पछिको पहिलो साता शेयर बजारका अधिकांश सूचक राताम्मे भएको छ । यो साता चार कारोबार दिन मध्ये सोमबार एक अंकले पनि बढ्न नसकेको शेयर बजार बाँकी तीन दिन निरन्तर घट्दा यो साता लगानीकर्ताहरुले शेयर बजारको लगानी गुमाउन पुगेको छन् ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले उपलब्ध गराएका तथ्यांक अनुरुप गत साताको तुलनामा यो साता बजार पुँजीकरण रकम करिब पौने खर्ब बढीले घटेको छ । गत साताको तुलनामा यो साता बजार पुँजीकरण रकम ८४ अर्ब ७९ करोड २९ लाखले घटेको हो । गत साता ४४ खर्ब ८३ अर्ब ८० करोड रहेको बजार पुँजीकरण रकम यो साता ४३ खर्ब ९९ अर्ब १ करोड पुगेको हो ।
त्यस्तै नेप्सका अनुसार गत साताको तुलनामा यो साता कारोबार रकम १ अर्ब २६ करोड ८३ लाखले घटेको छ । गत साता ३० अर्ब ३० करोड ८४ लाख कारोबार रकम पुग्दा यो साता कारोबार रकम २९ अर्ब ४ करोड १ लाख पुगेको हो ।
साथै कारोबार कित्ता शेयरको संख्या समेत घटेको छ । गत साताको तुलनामा यो साता कारोबार कित्ता शेयर २२ लाख ६३ हजारले घटेको हो । गत साता ७ करोड ७ लाख २५ हजार कित्ता शेयर खरिद बिक्री हुँदा यो साता ६ करोड ८४ लाख ६१ हजार कित्ता शेयर खरिद बिक्री भएको हो ।
नेप्सेले उपलब्ध गराएको तथ्यांक अनुरुप नेप्से परिसूचक पनि २६०० वरपर रहेको छ । यो साता नेप्से परिसूचक २६४०.९६ विन्दुमा पुगेर बन्द भएको छ । जुन गत साताको तुलनामा यो साता नेप्से परिसूचक ५२.१३ अंकले कम हो । गत साता नेप्से परिसूचक २६९३.०६ विन्दुमा पुगेर बन्द भएको थियो । यो साता सेन्सेटिभ इन्डेक्स पनि ४५१.३३ विन्दुमा पुगेर बन्द भएको छ । जुन गत साताको तुलनामा ९.९ अंकले कम हो । गत साता सेन्सेटिभ इन्डेक्स ४६१.२० विन्दुमा पुगेर बन्द भएको थियो ।

नेप्सका अनुसार समीक्षा अवधिमा समूहगत परिसूचकको हकमा भने २ वटा उप समुह बढ्दा बाँकी ११ वटा उपसमुह घटेको छ । गत साताको तुलनामा यो साता लगानी १ र म्युअुचल फण्ड ०.०५ अंकले बढ्दा बैंकिङ ५६, विकास बैंक १०३, वित्त ४४, होटल र पर्यटन ५०, जलविद्युत २०,जीवन बीमा २०५, उत्पादन र प्रशोधन १०७, लघुवित्त ११६, निर्जीवन बीमा १५७ , व्यापार १९१ र अन्य समूह ४३ अंकले घटेको हो ।


