काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले पुँजी बजारमा देखिएका अनियमितता, कार्टेलिङ, इन्साइडर ट्रेडिङ जस्ता गतिविधिहरूप्रति सरकार कडा रुपमा प्रस्तुत हुने बताएका छन्। नेपाल धितोपत्र बोर्डको ३३औं वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पौडेलले यस्तो प्रकारका क्रियाकलापप्रति धितोपत्र बोर्डले ‘शून्य सहनशीलता’ नीति अवलम्बन गर्नुपर्ने आवश्यकता रहेको औंल्याए।
उनले पुँजी बजारको नियमन, पारदर्शिता र विश्वासको वातावरण निर्माणमा बोर्डको भूमिका अझ सशक्त र प्रभावकारी हुनुपर्नेमा जोड दिए। ‘धितोपत्र बोर्डको भूमिकालाई गुणात्मक रूपमा सुधार गर्दै, नेपालका लागि सान्दर्भिक अन्तर्राष्ट्रिय अभ्यासहरूको अध्ययन गरी कार्यान्वयन गर्न आवश्यक छ,’ पौडेलले भने।
मन्त्री पौडेलका अनुसार आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले पुँजी बजारको पुनःसंरचनाका उपायहरू प्रस्तुत गरेको छ, जसले नियमनलाई स्पष्ट दिशा दिनेछ। उनले लगानीकर्ताहरूको विश्वास जित्न बोर्डले वित्तीय चेतना अभिवृद्धिमा समेत ध्यान दिनुपर्ने बताए।
“नियमनको काम दुई थरी हुन्छ,” उनले भने, “राम्रो कामलाई प्रोत्साहन गर्ने र गलत कामलाई नियन्त्रण गर्दै आवश्यक अनुसार दण्डित गर्ने। बोर्डले कुनैपनि दबाव र प्रभावमा नपरी निष्पक्ष ढंगले आफ्नो भूमिका निर्वाह गर्नु पर्दछ।”
कार्यक्रममा धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले बोर्डको सुपरिवेक्षण क्षमतामा चुनौती रहेको स्वीकार गरे। उनले आगामी आर्थिक वर्षको बजेटमा सेवान को क्षमता अभिवृद्धि, गैरआवासीय नेपालीहरूलाई बजारमा प्रवेश गराउने तथा साना तथा मझौला उद्यमलाई पुँजी बजारमा सहज पहुँच दिलाउने जस्ता योजनाहरू समावेश गरिएको जानकारी दिए।
श्रेष्ठले बजारमा अन्तिम समयमा हुने अस्वस्थ चलखेल रोक्नतर्फ समेत प्रयास भइरहेको बताए। साथै, उनले विश्व बजारमा विकसित भएका नवीनतम उपकरणहरूको अध्ययन गरी नेपालको सन्दर्भमा उपयुक्त प्रविधिहरूको प्रवर्धन गर्ने योजनाबारे पनि जानकारी गराए।
पुँजी बजार अर्थतन्त्रको ऐना हो भन्ने अवधारणालाई आत्मसात् गर्दै, उक्त क्षेत्रमा सुधार र विकासका लागि धितोपत्र बोर्डको भूमिका अझ प्रभावकारी बनाउनुपर्नेमा दुवै वक्ताहरू एकमत देखिए।

