काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले जेठ ११ गतेदेखि २० गतेसम्म लिलामीमार्फत विक्री गरिएको अवितरित हकप्रद शेयर जेठ २८ गते बाँडफाँट गरेको छ। कम्पनीले अवितरित १९ लाख ४६ हजार ६७६ कित्ता हकप्रद शेयर बिक्री खुला गरिएकोमा सर्वसाधारणतर्फको लकइनमा रहेको ९३ हजार ६२९ कित्ता शेयर भने बिक्री हुन सकेन । यी बाहेक बाँकी शेयर भने तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएका आवेदकहरुमा जेठ २८ गते बाँडफाँट गरिएको हो ।
कम्पनीले यसअघि १:१ अनुपातमा शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्दा वितरण नभएका संस्थापक तर्फका १२ लाख ८५ हजार ४१ कित्ता, सर्वसाधारण तर्फका लकइनमा रहेका १ लाख ६५ हजार ९५६ कित्ता र लकइनमा नरहेका ४ लाख ९५ हजार ६७९ कित्ता शेयर लिलामीमा ल्याएको थियो। बाँकी रहेका लकइन शेयर असार ७ गतेपछि फुकुवा हुने छन्।
प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्य रहेको यस लिलामीमा, अन्तिम बाँडफाँट मूल्य संस्थापक तर्फको प्रतिकित्ता २६५ रुपैयाँ र सर्वसाधारण तर्फको २७० रुपैयाँ कायम गरिएको छ। बाँडफाँटमा समावेश हुन नसकेका लगानीकर्ताहरूको रकम कम्पनीले जेठ ३० गतेदेखि रकमान्तर गर्ने जनाएको छ।
हकप्रद शेयर निष्कासन तथा विक्री व्यवस्थापनको जिम्मा सानिमा क्यापिटल लिमिटेड ले लिएको थियो।
हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँ रहेकोमा, यस लिलामीमार्फत बाँडफाँट गरिएको शेयर पश्चात् पूँजी २ अर्ब १० करोड ८५ लाख २० हजार ८०० रुपैयाँ कायम हुनेछ ।

