काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले निष्काशन गरेको ‘निफ्रा हरित ऊर्जा ऋणपत्र ६ प्रतिशत -२०८८/८९’ को बाँडफाँड सम्पन्न भएको छ। यो ऋणपत्र जेठ २५ देखि २८ गतेसम्म बिक्रीमा ल्याइएको थियो।
कम्पनीले जेठ १८ गतेदेखि २५ गतेसम्म प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ५० लाख कित्ता ऋणपत्र जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । कुल कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट विक्री गरेको कम्पनीले बाँकी ४० प्रतिशत अर्थात् २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र भने सर्वसाधारणमा बाँडफाँट गरेको हो । सर्वसाधारणतर्फको कुल कित्ता ऋणपत्रमध्ये सामूहिक लगानीकोषका लागि १ लाख कित्ता बाँडफाँट गरी बाकी १९ लाख कित्ता ऋणपत्र भने सार्वजनिक निष्कासन गरेको थियो ।
सर्वसाधारणमा सार्वजनिक निष्कासनमार्फत विक्री गरिएको ऋणपत्र कम्पनीले बाँडफाँट गरेको हो । तोकिएको अवधिभित्र मागभन्दा अधिक ऋणपत्र खरीदका लागि आवेदन प्राप्त भएकाले योग्य आवेदकहरूमा जेठ २९ गते ऋणपत्र बाँडफाँट गरिएको जानकारी कम्पनीले दिएको छ । कम्पनीका अनुसार यो ऋणपत्र खरीदका लागि मागभन्दा ४ गुणा बढी आवेदन परेको थियो । बाँडफाँडमा नपरेका लगानीकर्ताहरूको रकम फिर्ता गर्ने प्रक्रिया पनि सुरु गरिएको छ। यस ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको थियो।
नेपालमै पहिलो पटक यस कम्पनीले ७ वर्ष अवधिको वार्षिक ६ प्रतिशत ब्याजदरमा ‘निफ्रा हरित उर्जा ऋणपत्र ६ प्रतिशत २०८८/८९’ निष्कासन गरेको हो ।कम्पनीले तयार गरेको ग्रीन बण्ड फ्रेमवर्कको अधिनमा रही तोकिएका क्षेत्रहरूमा कर्जा प्रवाह नहुँदासम्म अल्पकालीन तरल सम्पत्तिमा मात्र लगानी गर्ने तयारी कम्पनीको छ ।
यो ऋणपत्रमा आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्थवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात कर कट्टा गरी भुक्तानी गरिने जानकारी समेत कम्पनीले दिएको छ ।

