CLI

धितोपत्र बोर्डको अध्यक्ष छनोट प्रक्रिया अन्योलमा

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनौट प्रक्रिया रोकिएको छ । अध्यक्ष पदका लागि छनौट भएका पाँचजनाको बिहीबार व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ता थियो, तर अर्थमन्त्री वर्षमान पुनको निर्देशनले रोकिएको छ ।

मन्त्रालय स्रोतका अनुसार सर्टलिस्टमा रहेका उम्मेदवार विभिन्न व्यवसायीनिकट रहेको भन्दै तत्कालका लागि अर्थमन्त्री पुनले छनोट प्रक्रिया रोकेका  हुन्। मन्त्रालयका प्रवक्ता उत्तर कुमार खत्रीले अध्यक्ष छनौट प्रक्रियामा सर्ट लिष्टमा परेका उमेद्वारहरुको  व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ता अन्तर्गत  बिहीबार  हुन नसकेको जानकारी दिए ।

छनौट समितिले कृष्णबहादुर कार्की, डा. नवराज अधिकारी, सन्तोष नारायण श्रेष्ठ, चिरञ्जिबी चापागाईं र मुक्ति श्रेष्ठको नाम सर्टलिस्ट गरेको थियो । सर्ट लिष्टमा परेका मध्ये  कार्की नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत हुन् । अधिकारी र श्रेष्ठ धितोपत्र बोर्डका कार्यकारी निर्देशक हुन् भने चापागाईं तत्कालीन बिमा समितिका अध्यक्ष हुन् ।

सरकारले १५ फागुनमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठको संयोजकत्वमा अर्थसचिव कृष्णहरी पुष्कर र शंकरदेव क्याम्पसका प्राध्यापक उदय निरौला सदस्य रहेको छनोट समिति गठन गरेको थियो । धितोपत्रसम्बन्धी ऐन, २०६३ मा भएको व्यवस्थाबमोजिम राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा समितिले धितोपत्र बोर्डको अध्यक्ष छनोटका लागि कार्यविधि बनाई आवेदन माग गरेको थियो ।

Leave Your Comment

Related News